राष्ट्रिय जनगणनामा आर्थिक स्थितिको पनि अध्ययन हुने

डिसी नेपाल
२४ कार्तिक २०७७ १६:२६

काठमाडाैं। सरकारले राष्ट्रिय जनगणना–२०७८ मा जनसंख्याको साथै उनीहरुको आर्थिक, सामाजिकलगायतका पक्षबारे समेत विस्तृत अध्ययन गर्ने भएको छ।

केन्द्रीय तथ्यांक विभागले पहिलो पटक घर तथा परिवार सम्बन्धी स्वामित्व विवरण, व्यवसाय प्रयोजनमा प्रयोग भएका घरहरुको विस्तृत तथ्यांक समेत संकलन गर्ने गरी प्रक्रिया अघि बढाएको महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए।

जनगणना गर्दा कृषिमा प्रयोग भएका जग्गा, पशुपंक्षीको तथ्यांक र वित्तीय पहुँच, तालिमप्राप्त जनशक्ति, सरकारी अनुदानमा प्रयोग भएको घरहरुको समेत तथ्यांक संकलन हुनेछ।

प्रत्येक १० वर्षमा गरिने राष्ट्रिय जनगणना आगामी वर्ष हुँदैछ। कोरोना महामारीकै बीचमा पनि विभागले स्वाथ्य मापदण्ड पालना गरी जनगणना सम्पन्न गर्ने तयारी भइरहेको महानिर्देशक श्रेष्ठले जानकारी दिए। ‘कोरोना महामारीकै बीचमा पनि विभागले पाइलट जनगणना गरिसकेको छ, जसबाट केही अनुभव पनि प्राप्त भएको छ, हालकै अवस्थामा भए पनि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पूरा गरी काम सम्पन्न गर्न समस्या हुँदैन,’ श्रेष्ठले भने।

उनका अनुसार तयारी स्वरुप आगामी माघदेखि मास्टर ट्रेनरहरुका लागि तालिम दिन शुरु गरिन्छ। त्यसैगरी चैत महिनादेखि ४ महिनाका लागि सबै प्रदेश, जिल्ला र स्थानीय तहमा जनगणना कार्यालय स्थापना गरिने श्रेष्ठले बताए।

‘विगतमा गणकका रुपमा शिक्षकहरुलाई प्रयोग गरिन्थ्यो भने यसपटक खुला विज्ञापनमार्फत् गणकहरु छनोट गरिन्छ,’ उनले भने। उनले यसपटकको जनगणनामा पहिलोपटक स्थानीय तहसम्म गइ विस्तृत तथ्यांक संकलन गरिने बताए।

राष्ट्रिय जनगणनालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि राष्ट्रिय जनगणना निर्देशन समिति स्थापना गरिनेछ। साथै राष्ट्रिय जनगणना समन्वय समिति, राष्ट्रिय जनगणना प्राविधिक समिति र राष्ट्रिय जनगणनाका अन्य विषयगत समितिहरु पनि रहनेछन्।

जनगणनाको समयमा ४ महिनाका लागि विभिन्न स्थानमा कार्यालय स्थापना हुन्छ। जसमध्ये केन्द्रसँगै ७ वटै प्रदेश, सबै जिल्ला र सबै स्थानीय तह र वडा कार्यालयमा समेत जनगणना समन्य समिति स्थापना हुनेछ।

३ खाले प्रश्नावली

आगामी राष्ट्रिय जनगणनामा सही र विस्तृत तथ्यांक संकलनका लागि ३ वटा प्रश्नावली तयार पारिएको छ। जसमा पहिलो प्रश्नावलीमा मूल घरानाको तथ्यांक संकलन गरिन्छ। यसमा २५ वटा प्रश्न हुन्छन्।

त्यसबाहेक मुख्य प्रश्नावलीमा ५५ वटा प्रश्नहरु हुनेछन्। यो जेठ २५ गतेदेखि तथ्यांक संकलनमा प्रयोग गरिनेछ। यसमा सामूहिक प्रश्नावलीको प्रयोग गरिनेछ।
मुख्य प्रश्नावलीमा प्रत्यक्षरुपमा परिवारले उपभोग गरेका सुविधा, खानोपानी बत्ती, मोबाइल, सवारी साधन, महिलाका नाममा भएका जग्गा र घर, साना घरका व्यवसायलगायतको पनि विस्तृत तथ्यांक संकलन गरिनेछ।

त्यसैगरी सरकारी निकायमा दर्ता नभएकाहरुको विस्तृत विवरण, विदेशमा रहेका परिवारका अनुपस्थित सदस्यहरुको पनि तथ्यांक संकलन गरिनेछ। जसमा कुन व्यक्तिले के काम गर्छन ? कस्तो काम गर्छन् ? उनीहरुले काम गर्ने ठाउँमाबाट कस्तो उत्पादन हुन्छ लगायतका तथ्यांकहरु संकलन गरिने श्रेष्ठले जानकारी दिए।

सामूदायिक प्रश्नावलीमा वडास्तरमा हुनेछ। यसमा पनि हाउसहोल्डबाट प्राप्त भएका तथ्यांकलाई भेरिफाइ गर्ने काम हुन्छ। जसबाट वडा स्तरमा राजस्व संकलनको स्रोतको तथ्यांक, कृषिजन्य उत्पादन र निकासी तथ्यांक, वडास्तरको आम्दानीको स्रोतबारे विवरण लिइनेछ।

यसपटकको राष्ट्रिय जनगणनामा ‘मेरो गणना, मेरो सहभागिता, राष्ट्रिय जनगणना २०७८’ भन्ने मूल नारा तय गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *