प्रचण्ड समूहले दियो नयाँ डेटलाइन्

डिसी नेपाल
२५ कार्तिक २०७७ १८:१५

काठमाडौं। सत्तारुढ दल नेकपामा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बैठक बोलाउन नमान्ने र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाउन माग गरिरहेपछि नेकपामा बढ्दै गएको विवादमा प्रचण्डले फेरि प्रधानमन्त्रीकै आश गरेका छन्।

मंगलबार बुहमत सचिवलाय सदस्यहरुको बैठक बसेको थियो। पार्टी मुख्यालय धुम्बाराही बसेको सो बैठकले प्रधानमन्त्री तथा अध्यक्ष ओली पार्टी सचिवालय बैठक बोलाउन सहत हुने आशा गरेको छ। धुम्बाराही बैठकपछि सञचारकर्मीसँग बोल्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले २७ गते प्रधानमन्त्री ओली बैठक बोलाउन सहमत हुने आशा रहेको बताए। मंगलबार धुम्बाराहीमा बैठक बस्नुअघि प्रचण्ड बालुवाटार पुगेका थिए।

बालुवाटार पुगेर २७ गतेका लागि सचिवलाय बैठक बोलाउन प्रचण्डले प्रस्ताव गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए। तर, ओलीले भने सो विषयमा सहमति जनाइनसकेको उनले बताए। प्रवक्ता श्रेष्ठले भने, ‘भोलि (बुधबार) उहाँ (प्रधानमन्त्री)को काठमाडौं बाहिर जाने कार्यक्रम तय भइसकेको रहेछ। २७ गते बैठक बोलाउन सहमत हुने आशा छ।’

प्रवक्ता श्रेष्ठले कोरोना नियन्त्रण, भारतीय गुप्तचर एजेन्सी रअका अध्यक्षसँगको भेट, मन्त्रिपरिषद पुनःगठन र पार्टी एकताका विषयमा पार्टीमा छलफल गर्नका लागि बैठक बोलाउन माग गरिएको बताए। उनले बैठक बस्न धेरै ढिलाई गर्न नहुने बताए। तर, २७ गते पनि ओली बैठक बोलाउन सहमत नभए के गर्ने भन्ने प्रश्नमा उनले त्यसबारे केही नसोचिएको जानकारी दिए।

प्रधानमन्त्री ओलीले एकलौटी मन्त्रिपरिषद् पुनःगठन गरेको, राजदूत नियुक्तीमा छलफल नगरेको, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन उचालेको जस्त आरोपहरु प्रचण्डले लगाइरहेका छन्।

गएको भदौ २६ गते स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्रीले नमानेको प्रचण्डको आरोप छ। यी विषयमा छलफल गर्न भन्दै उनले सचिवालय बैठक बोलाउन माग गरिरहेका छन्। तर, सचिवालय बैठक बोलाउन माग गर्नुअघि प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाबीच प्रचण्ड निवास खुमलटारमा छलफल भएपछि प्रधानमन्त्री ओली बिच्किएका छन्।

बहुमतका आधारमा आफूमाथि कुनै अप्रिय निर्णय हुनसक्ने भन्दै ओलीले बैठक बोलाउन नमानेको बताइन्छ। पछिल्ला दिनहरुमा रामबहादुर थापा भने प्रचण्ड समूहले बोलाएका बैठकमा जान छाडेका छन्। उनले प्रधानमन्त्री ओलीलाई साथ दिँदै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *