पर्यटनमन्त्रीद्वारा माछापोखरीको अवलोकन
फुङ्लिङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले धार्मिक तथा पर्यटकीयस्थल माछापोखरीको अवलोकन गरेका छन् । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ चाँगेस्थित माछापोखरीको आज मन्त्री भट्टराईले अवलोकन गरेका हुन् ।
मन्त्री भट्टराईले सो क्षेत्रमा बढीभन्दा बढी पर्यटक भित्रयाउने गरी आवश्यक प्रचारप्रसार, पूर्वाधार निर्माण तथा व्यवस्थापनमा जोड दिन स्थानीयवासीलाई सुझाव दिए ।
नेपालकै एक मुख्य पर्यटकीय गन्तव्य तिनजुरे मिल्के जलजले (टीएमजे) क्षेत्र नजिक रहेको माछापोखरीलाई थप पूर्वाधारसहित पर्यटकीय स्थलका रुपमा विकास गर्न सकेमा टीएमजे भ्रमणमा आएका विदेशी पर्यटक माछापोखरीसम्म पुग्नसक्ने उनको भनाइ थियो ।
माछापोखरी क्षेत्रलाई आकर्षक बनाउन त्यहाँका मन्दिर लगायतका संरचना, सडक निर्माण लगायतका कार्य गर्न शुरु गरिएको आठराई गाउँपालिका वडा नं। ५ का वडाध्यक्ष सन्तोष लिम्बूले जानकारी दिए।
Facebook Comment