स्थायी कमिटीमा बहुमत पु-याउने दाउमा ओली, सचिवालय बैठकबाट छिनोफानो गर्ने प्रचण्डकाे याेजना

डिसी नेपाल
२७ कार्तिक २०७७ ८:२३

काठमाडौं। लामो विवाद र रस्साकस्सीबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन्। प्रधानमन्त्री ओलीले शुक्रबार अपरान्ह चार बजे सचिवालय बैठक बोलाएका हुन्

नौ सदस्यीय सचिवालय बैठकमा अल्पमतमा रहेका ओलीले स्थायी कमिटी बैठकमा आफ्नो बहुमत पुर्याउने गरी कसरत गरिरहेका छन्। उनले पूर्व माओवादी र माधव नेपाल पक्षधर स्थायी कमिटी सदस्यलाई आफ्नो पक्षमा पार्ने गरी आफू र आफू निकट नेतालाई छलफलमा खटाएका छन्।

पार्टीका सबै जसो कमिटीमा अल्पमतमा रहेका ओली स्थायी कमिटीमा बहुमत पर्याउने र आफू अनुकुल निर्णय गराउने पक्षमा रहेको ओली निकट एक नेताले बताए। तर त्यसका लागि धेरै मेतहन गर्नुपर्ने हुन्छ। अहिले पार्टीका सबै जसको कमिटीमा प्रचण्ड र माधव नेपाल समूह मिल्दा बहुमत पुग्छ।

स्रोतका अनुसार पछिल्लो समय पूर्व माओवादी पक्षका स्थायी कमिटी सदस्यलाई लाभको पदमा दिने गरी प्रधानमन्त्री ओली समूहले आफ्नो पक्षमा पार्न खोजिरहेको छ। त्यसले मात्र बहुमत नपुग्ने भएपछि पछिल्लो समय ओलीले पूर्व एमालेकै पनि माधव नेपाल पक्षधरसँग सहकार्यको प्रस्ताव गरेको छ।

यो बीचमा प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग दुई पटक एक्ला एक्लै र एक पटक सामूहिक छलफल पनि गरेका छन्।  प्रधानमन्त्री ओलीले पूर्व एमाले एकजुट हुनुपर्ने बेला आएको र त्यसका लागि आफूलाई सहयोग गर्न नेता नेपालसँग आग्रह गरेका छन्।

तर नेता नेपालले हिजो प्रचण्डसँग मिलेर आफूलाई एक्ल्याएको र अब फेरि आफूसँग मिलेर प्रचण्डलाई एक्ल्याउने रणनीति उचित नभएको जवाफ दिएको स्रोतले जनाएको छ।

प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग दुई पटक एक्ला एक्लै र एक पटक सामूहिक छलफल पनि गरेका छन्।  प्रधानमन्त्री ओलीले पूर्व एमाले एकजुट हुनुपर्ने बेला आएको र त्यसका लागि आफूलाई सहयोग गर्न नेता नेपालसँग आग्रह गरेका छन्।

‘हिजो जसरी पनि माधव नेपाललाई सिध्याउँछु भन्ने सोचबाट ओलीजी अगाडि बढ्नु भयो, प्रचण्डसँग मिलेर माधव नेपालको गर्नसम्म अपमान गर्नु भयो। अहिले आफूलाई अप्ठेरो परेको बेला पूर्व एमालेको याद आउने, मदन भण्डारी सम्झिने कुराले उहाँमाथि विश्वास गर्न सकिने अवस्था छैन,’ नेता नेपाल निकट स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले सहकार्य गर्ने प्रस्ताव गरेपनि उहाँलाई अहिलेकै अवस्थामा विश्वास गरिहाल्ने अवस्था छैन।’

पार्टी एकीकरण प्रक्रियामा सक्रिय सहभागी भएका नेपाललाई ओलीले वास्ता नगर्ने, मन्त्रिपरिषद पुनर्गठनमा छानिछानी आफ्ना मान्छे नियुक्त गर्ने, संवैधानिक आयोग वा अन्य कुनै पनि राजनीतिक नियुक्तमा आफ्ना मान्छेलाई किनारा पार्ने काम गरेको भन्दै नेता नेपालले अहिले अप्ठेरोमा परेर मात्रै ओलीले सहकार्यको प्रस्ताव गरेको आफू निकट नेताहरुलाई बताउने गरेका छन्।

‘नेता नेपाल अफ्रिका गएका बेला ओलीले प्रचण्डसँग मिलेर प्रदेश कमिटी गठन गर्नु भयो र आफ्नो मानिसलाई नियुक्त गर्नु भयो,’ स्रोतले भन्यो, ‘अहिले प्रधानमन्त्रीले माधव नेपालसँग गरेका वार्ता र संवाद फलदायी छैन।’  नेता नेपालले प्रधानमन्त्री ओलीलाई एउटा पक्षसँग मिलेर अर्को पक्षलाई एक्लाउने काम गर्नु भन्दा सबै पक्षसँग मिलेर जानु उचित हुने सुझाव दिएका छन्।

वरिष्ठ नेता निकट मानिने नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजाल अहिले कुनै दुई पक्ष मिलेर अर्को पक्षलाई एक्ल्याउनु भन्दा पनि तीनवटै पक्ष (ओली–प्रचण्ड–नेपाल) मिलेर समस्या समाधान गर्नुपर्ने बताउँछन्।

‘अहिले यो पक्ष वा उ पक्ष भन्दा पनि तीनवटै पक्ष मिलेर पार्टीभित्रको विवाद समाधान गर्नुपर्छ,’ रिजालले डिसी नेपालसँग भने, ‘तीन जना नेता बसेर पावरसेयरिङलगायतका विषयमा छलफल गरेर समाधान निकालेर अगाडि बढ्नुपर्छ।’  पार्टी भित्रको विवाद उत्कर्षमा पुग्दै गर्दा प्रधानमन्त्री ओली भने पूर्व एमालेलाई एकजुट बन्नुपर्ने बताउँदै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *