प्रधानमन्त्री ओलीले किन बोलाए सचिवालय बैठक: मिलाएर कि डराएर ?

डिसी नेपाल
२७ कार्तिक २०७७ ११:०७

काठमाडौं। लामो रस्साकसीपछि नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टी सचिवालय बैठक बोलाउन तयार भएका छन्। नेकपाका दुई अध्यक्षमध्ये एक बैठक बोलाउन माग गर्ने अर्को अध्यक्ष बैठक बोलाउन नमान्ने गर्दा नेकपामा पछिल्लो दुई हप्ता पार्टी विभाजन हुनेसम्मको चर्चा भयो।

बैठक बोलाउन नमानिरहेका प्रधानमन्त्री ओली शुक्रबारका लागि बैठक बोलाउन कसरी तयार भए यो चासोको विषय बनेको छ। ओलीले बैठक बोलाउन नमानेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुमत सचिवालय सदस्यको दुई पटक बैठक पार्टी मुख्यालयमा गरिसकेका छन्।

र बहुमत सदस्यहरुले प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई भेटेरै लिखित पत्र लेख्दै बैठक बोलाउन माग पनि गरेका थिए। तर, त्यतिबेला पनि बैठक बोलाउन तयार नभएका ओली बिहीबार बिहानै बैठक बोलाउन तयार भए। प्रचण्ड समूहले बिहीबारसम्म बैठक बोलाउन ओलीलाई समयसीमा दिएको थियो।

बुधबार प्रधानमन्त्री ओली काठमाडौं बाहिर किमाथांका पुगेर आए। मिर्गौला प्रत्यारोपणपछि पहिलो पटक काठमाडौं बाहिर पुगेर फर्किएका ओली एकाएक बैठक बोलाउन तयार भएपछि दुईथरी विश्लेषण गरिएको छ। एक उनले कुरा मिलाइसके। अर्को प्रचण्डले एकलौटी बैठक बोलाउने देखिएपछि डराए।

नौ सदस्यीय सचिवालयमा प्रचण्ड–नेपाल पक्षधरको बहुमत रहेको छ। प्रचण्ड–नेपाल समूहकमा पाँच जना छन् भने प्रधानमन्त्री ओली समूहमा चार जना सदस्य छन्।

आफू अल्पमतमा हुँदाहुँदै पनि प्रधानमन्त्री ओलीले किन बोलाए त सचिवलाय बैठक?  प्रधानमन्त्री ओली निकट स्रोतका अनुसार सचिवालय बैठकमा प्रधानमन्त्रीको राजीनामा माग्ने र सरकारलाई अप्ठेरो पार्ने गरी छलफलका एजेण्डा छैनन्।

छलफलका एजेण्डा नै नतोकिएपछि भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकले गरेका निर्णय कार्यान्वयन गर्ने विषयमा सचिवाय बैठकमा छलफल हुनेछ। स्थायी कमिटी बैठकले गरेका निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री तयार हुने र बाँकी विवादको हल महाधिवेशनले गर्ने गरी समाधान खोजिने बताइएको छ।

एकाएक प्रधानमन्त्री ओली सचिवालय बैठक बोलाउ तयार हुनुको पछाडि अर्को पनि कारण छ। राष्ट्रियसभामा मनोनित उपाध्यक्ष बामदेव गौतमलाई अदालतले मन्त्री बन्ने बाटो खुला गरेपछि गौतम आफ्नो पक्षमा लाग्ने ओलीको बुझाइ छ। बुधबार अदालतले गौतमलाई मन्त्री बन्ने बाटो खुला गरेको थियो।

अहिले प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय आफैंसँग राखेका छन्। तर रक्षा मन्त्रालय प्रधानमन्त्रीले सधैं आफूसँग नराख्ने बताएका छन्। आफू निकट र विश्वासिलो नेतालाई रक्षा मन्त्रालयको जिम्मेवारी दिने प्रधानमन्त्रीको चाहनामा गौतम उपयुक्त पात्र हुने बताइन्छ।

उपप्रधानसहित रक्षा मन्त्रालयको जिम्मेवारी दिएको अवस्थामा गौतमले प्रधानमन्त्री ओलीलाई साथ दिने र त्यस्तो अवस्थामा सचिवालयमा ओलीको बहुमत पुग्नेछ। शुक्रबार बस्ने सचिवालय बैठक अगाडि नै प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमबीच छलफल हुने स्रोतले जनाएको छ।

केही दिन अगाडि शितल निवास पुगेका गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अदालतले न्याय दिने आश्वासन दिँदै अप्ठेरो पस्थितिमा प्रधानमन्त्रीको साथ दिन आग्रह गरेकी थिइन्।

प्रधानमन्त्री निकट उच्च स्रोतले भने आइतबार नै प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेललाई बोलाएर शुक्रबार बैठक बोलाउने तयारी गर्न निर्देशन दिएको बताएको छ। शनिबार पाँच जना सचिवालय सदस्यले बुझाएको पत्रलाई तोक लगाएर आवश्यक प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका थिए।

नेकपा विधानमा दुई अध्यक्षको सहमतिमा महासचिवले बैठक बोलाउने प्रावधान छ। प्रधानमन्त्री ओली बैठक बोलाउन सहमत भएपछि महासचिव पौडेलले खुमलटार र बालुवाटार पुगेर एजेण्डा र कार्यसूचिका विषयमा छलफल गरेका थिए। दुवै अध्यक्षबीच स्थायी कमिटीले गरेको निर्णय कार्यान्वयन गर्ने विषयमा सचिवालय बैठकमा छलफल गर्ने सहमति भएको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *