आन्तरिक विवादकाबीच दुई प्रमुख पार्टीका बैठकः नेकपा र कांग्रेसमा के होला?

डिसी नेपाल
२८ कार्तिक २०७७ ९:४५

काठमाडौं। आन्तरिक विवादकाबीच देशका प्रमुख दुई दलको बैठक शुक्रबार बस्दै छन्। सत्तारुढ दल नेकपाको सचिवालय बैठक अपराह्न ४ बजे बस्दै छ भने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक दिउँसो एक बजे बस्दै छ।

सत्तारुढ र प्रतिपक्षी दल यतिबेला आन्तरिक विवादबाट गुज्रिरहेका बेला हुन लागेका यी बैठकले ती दुबै पार्टीको आगामी दिशासमेत निर्धारण गर्ने अपेक्षा गरिएको छ।

सत्तारुढ दल नेकपामा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहबीच विवाद छ भने कांग्रेसमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच विवाद छ।

यसरी आन्तरिक विवादबाट गुज्रिरहेका दुई प्रमुख पार्टीको शुक्रबार बस्ने बैठकमा के होला? सबैको चासोको विषय बनेको छ। लामो समय बैठक बोलाउन नमानेका प्रधानमन्त्री तथा अध्यक्ष ओली नेकपा सचिवालयको बैठक बोलाउन तयार भए।

ओली बैठक बोलाउन तयार भएपछि बैठकको माग गरिरहेका पाँच जना सचिवालय सदस्यहरुले बिहीबार प्रचण्ड निवास खुमलटारमा बैठक गरेर एकढिक्का भएर प्रस्तुत हुने निर्णय गरेका छन्। तर, उनीहरुले के कुरा राख्दै छन् भन्ने खुलेको छैन।

शुक्रबार ४ बजेपछि बालुवाटारमा हुने बैठकमा उनीहरुको प्रस्तुतिले नेकपा र नेकपा नेतृत्वको सरकारको भविष्यबारे दिशानिर्देश गर्ने अनुमान गरिएको छ। उता नेपाली काँग्रेसको आन्तरिक विवाद केही हदसम्म समाधान भए पनि महाधिवेशनको मितिबारे सहमति जुट्न नसक्दा शुक्रबारको केन्द्रीय कार्य समिति बैठक कसरी अगाडि बढ्छ भन्ने अन्यौल छ।

यो समाचार पार्दासम्म काँग्रेस पदाधिकारीको बैठक चलिरहेको छ। यो बैठकमा महाधिवेशनको मितिबारे सहमति जुटे शुक्रबारको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको मितिबारे निर्णय गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *