साझासँग एकीकरण गर्न विवेकशीलले गर्यो कार्यकर्तामा मतसंग्रह

डिसी नेपाल
२८ कार्तिक २०७७ १५:५९

काठमाडौं । विवेकशील नेपाली दलले साझा पार्टीसँग एकीकरण सम्बन्धी प्रस्तावमा मतसंग्रह गरेको छ।

विवेकशील नेपाली दल र साझा पार्टीका संवाद समितिले दुई दलबीचको एकीकरणका लागि भएको वार्ताका निष्कर्षहरू ‘संयुक्त प्रतिवेदन’ गत कार्तिक ५ गते सङ्घीय समितिको बैठकले सदस्यलाई छलफलका लागि पठाएका थियो।

कार्तिक २६ र २७ गते विवेकशील नेपाली दलका नेपालस्थित सदस्यहरूले एसएमएसबाट र प्रवासमा रहेका सदस्यले इमेलबाट साझा पार्टीसँग एकीकरण गर्ने (एस) की नगर्ने (नो) भनी मतदान गरेको अध्यक्ष मिलन पाण्डेले प्रेस विज्ञप्तिमार्फत जनाएका छन्।

शीर्ष नेताहरू मात्र मिलेर पार्टी एकीकरण गर्ने प्रचलनलाई तोड्दै विवेकशील नेपाली दलले आम सदस्यहरूको मतमार्फत एकीकरणको निर्णय गरेको पाण्डेको भनाई छ।

यो मतसंग्रह एउटा दलको आन्तरिक अभ्यास मात्र नभएर नेपालको राजनीतिक इतिहासमा सदस्यहरूको सार्वभौमिकता र दलहरूभित्रको आन्तरिक लोकतन्त्रको उच्चतम अभ्यासको व्यवहारिक संस्थापनाको रूपमा इतिहासमा लिपिबद्ध हुने विवेकशील नेपाली दलको विश्वास रहेको विज्ञप्तिमा उल्लेख छ।

विवेकशील नेपाली दलको विधानबमोजिम सहभागितामूलक लोकतन्त्रको अभ्यास गर्दै सार्वभौम सदस्यहरूको दुईतिहाइ मतले अनुमोदनपछि मात्रै एकीकरणको निर्णय पारित हुने उनले जनाएका छन्।

यसको लागि एकीकरण, सम्मिलन तथा सहकार्य सम्बन्धी नियमावली र निर्वाचन कार्यविधि र आचारसंहिता बनाएर विधिपद्धति बमोजिम तयारी गरेको हो।

मत परिणाम मतदान सकिएको ४८ घण्टाभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगले जानकारी दिएको छ। मतसंग्रहको सम्पूर्ण व्यवस्थापन र संयोजन पार्टीको स्वायत्त निर्वाचन आयोगले गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *