कोरोना विशेष आइसोलेशन सेन्टर बन्द गरिने

डिसी नेपाल
२८ कार्तिक २०७७ १८:१६

देउखुरी । राप्ती गाउँपालिकाको राप्ती प्राविधिक शिक्षालयमा सञ्चालित कोरोना विशेष देउखुरी आइसोलेशन सेन्टर आगामी मङ्सिर १ गतेदेखि बन्द हुने भएको छ ।

गाउँपालिकाको मौरीघाट दाङस्थित आइसोलेशन सेन्टर रहेको भवन प्रदेशसभाको हिउँदे अधिवेशन तयारीका लागि आवश्यक पर्ने भएकाले बन्द गर्न लागिएको हो । चार वटै स्थानीय तहले आआफ्ना पालिकामा आइसोलेशन सेन्टर सञ्चालन गर्ने गरी सो सेन्टर बन्द गर्ने निर्णय गरिएको हो ।

सेन्टर सञ्चालन तदर्थ समितिका अध्यक्ष नुमानन्द सुवेदीका अध्यक्षतामा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, लमही नगरपालिकाका उपाध्यक्ष देवका बेल्बासे, गढवा र राजपुर गाउँपालिकाका अध्यक्षद्वय सहजराम यादव र लोकराज केसी, लेफ्टिनेन्ट कर्णेल विजय बस्नेतलगायतको उपस्थिति थियो ।

हालसम्म चार पालिकाका २५५ कोरोना संक्रमितलाई आइसोलेट गरी २४६ जनालाई डिस्चार्ज गर्दैै आइसोलेशन सेन्टर बन्द हुने भएको हो । हाल सेन्टरमा रहेका नौ जनालाई अन्यत्र लगिने भएको छ ।

राप्ती नगरपालिका तथा गढवा र राजपुर गाउँपालिकाको संयुक्त लगानीमा सञ्चालित आइसोलेशन सेन्टर चलाउन लागेको खर्च विवरण आइसोलेशन सेन्टर बन्द गरिएपछि चारै स्थानीय तहको उपस्थितिमा सार्वजनिक गरिने र सोको व्ययभार चार पालिकाले बहन गरिने निर्णयसमेत गरिएको छ ।

बैठकले आइसोलेशन सेन्टरमा खटिएका नेपाली सैनिक, स्वास्थ्यकर्मी, अन्य कर्मचारी तथा जनप्रतिनिधिलाई धन्यवाद दिँदै कोरोना सङ्क्रमणबाट बच्नका लागि सबैलाई सचेतना अपनाउन र जोकोहीलाई कोरोना संक्रमण भएमा चारै पालिकालाई आफ्नातर्फबाट बिरामीको रेखदेखलाई निरन्तरता दिँदै जान आग्रह गरेको छ ।

दाङ देउखुरीको कोरोना आइसोलेशन सेन्टर लालमटियामा लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन चल्ने भएपछि देउखुरीका चारै पालिकाले छुट्टाछट्टै आइसोलेशन सेन्टर स्थापना गर्न लागेका छन् ।

लमही नगरपालिकाले शहीद नेत्रलाल अभागी स्मृति भवनलाई आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गर्ने निर्णय गरेको नगर प्रमुख कुलबहादुर केसीले जानकारी दिए ।

नगर प्रमुख केसीका संयोजकत्वमा सोमबार बसेको बैठकले कोरोना भाइरसको बढ्दो संक्रमणलाई ध्यानमा राख नगरपालिका क्षेत्रभित्र उपभोक्ता, व्यापारी तथा नगरवासीलाई कोभिडसम्बन्धी आवश्यक मापदण्ड अनिवार्य रुपमा पालन गर्न अनुरोध गरेको छ ।

संक्रमणलाई ध्यानमा राखी देउसीभैलो नखेल्न पनि नगर प्रमुखले सबैसँग आग्रह गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *