सङ्घमातहत भएपछि भक्तपुर क्यान्सर अस्पतालमा नयाँ रौनक

डिसी नेपाल
२८ कार्तिक २०७७ २२:३४

भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालाई सङ्घीय सरकारमातहत राख्ने निर्णयपछि अस्पताल प्रशासनमा नयाँ उत्साह छाएको छ ।

विगतको व्यवस्थान हुँदा आन्तरिक विवाद, अनियमितता र कर्मचारीको आन्दोलनको चेपुवामा परेको अस्पतालका कर्मचारी अब संस्थाले सही बाटो समातेको अनुभव गर्न थालेका छन् । सङ्घीय सरकारको निकायको छनक दिन अस्पतालमा पहिलोपटक राष्ट्रप्रमुख विद्यादेवी भण्डारीको तस्बीर राखिएको छ ।

विसं २०५१ मा क्यान्सर केयर सेन्टरका रूपमा स्थापना भएको सो अस्पताल सञ्चालनका लागि ‘भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश २०७७’ जारीपछि नयाँ प्रबन्ध गरिएको हो । विसं २०५६ असोज २१ गते तत्कालीन राजा वीरेन्द्र शाहबाट उद्घाटन भएको सो अस्पतालमा २६ वर्षपछि राष्ट्रप्रमुखको तस्बीर राखिएको हो ।

स्थापनाकालमा नेपाल सरकारले सञ्चालन गर्ने भनिए पनि केही वर्षपछि नेपाल अबुर्द रोग निवारण गैरसरकारी संस्थाले एकलौटी रुपमा सञ्चालन गरी आर्थिक हिनामिना गरेको आवाज उठेपछि अस्पताललाई सरकारले आफ्नो मातहतमा ल्याउने निर्णय गरेको हो ।

अस्पतालका नयाँ मेडिकल डाइरेक्टर डा। ऋषिकेशनारायण श्रेष्ठले नेपाल सरकार मन्त्रीपरिषद्को कात्तिक २४ गतेको निर्णयको स्वागत गर्दै आफू सङ्घमातहत सञ्चालन हुन तत्पर रहेको स्पष्ट गरेका छन् ।

उनले भने, “पहिलोपटक राष्ट्रप्रमुखको तस्बीर यो अस्पतालमा राख्न पाएका छौँ, अब सरकारले भौतिक तथा प्राविधिक सहयोग गरेर सेवा सञ्चालनमा टेवा पु¥याउँदा सरकारले तोकेको शुल्कमा सेवा दिन सक्नेछौ ।”

अस्पतालका मेडिकल डाइरेक्टर डा श्रेष्ठले प्रश्न गर्दै भने, “सरकारको जग्गामा अस्पताल भवन बनेको छ, दाताहरुले सबै भवन बनाइदिएका छन्, ल्याब, फार्मेसीदेखि सिटिस्क्यानसम्म निजी क्षेत्रले सञ्चालन गरेका छन्, २० करोड ऋणमा ल्याएको लिनायक मेसिनको पनि रू १२ करोड अझै ऋण छ, कर्मचारीलाई अस्पतालको आम्दानीले नै तलब व्यवस्थापन भएको छ, संस्थाले के चाँही ग¥यो, छानबिन गर्ने हो भने यहाँबाट लानेबाहेक के दिइयो भन्ने देखिँदैन र ?”

वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले क्यान्सर अस्पतालमा अबुद्र्ध रोग निवारण संस्थाले गरेको अनियमितताका कारण उत्पन्न अन्योललाई सरकारले व्यवस्थापन गरेको बताए । सो अस्पताल शुरुमा सरकारकै अस्पताल भएपनि पछि संस्थाले कब्जा गरेको अस्पताल स्थापनाकालदेखि सेवामा रहँदै आएका प्रशासन प्रमुख राजाराम तजलेले जनाए ।

दैनिक १०० बिरामी भर्ना भएर उपचार हुने, ५०० बिरामीले ओपिडीमा सेवा लिने र १०० बिरामीले रेडियसन सेवा लिने यो अस्पतालमा कोभिड—१९ को महामारीपछि पनि दैनिक ७० जना भर्ना भएर उपचार गराइरहेका छन् । हाल ३०० जनाले ओपिडीमा सेवा लिइरहेको र सात हजार बिरामीलाई सेवा दिइएको छ ।

यसअघि लोकेन्द्र श्रेष्ठको अध्यक्षको व्यवस्थापन हुँदा अस्पतालमा भ्रष्टाचार गरेको, संस्थाको बैठकसमेत मलेसियामा बस्ने गरेको, बिरामीको उपचारमा खर्च गर्नुपर्ने रकम बिलासितामा खर्च गर्ने गरेको, अध्यक्षलगायत पदाधिकारीले गाडी र विभिन्न सेवा सुविधाको दुरूपयोग गरेको आरोप लगाउँदै यहाँका कर्मचारीले आन्दोलन गरेका थिए ।

सरकारले गठन आदेश जारी गरेपछि आन्दोेलन रोकिएको छ । आन्दोलनपछि भक्तपुर नगरपालिकाले नगरप्रमुख सुनील प्रजापतिको अध्यक्षतामा व्यवस्थापन समिति गठन भएकामा गठन आदेशपछि केन्द्र सरकारमातहतको संस्था भएको छ ।

नगरपालिकाको समितिविरुद्ध संस्थाले अर्को व्यवस्थापन समिति गठन गरेपछि यो विवाद सर्वोच्च अदालत पुगेको थियो । अदालतलको आदेशपछि अन्योलमा परेको व्यवस्थापनले निकास पाएको छ ।

अस्पतालमा विगतमा भएका अनियतिमताबारे अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अध्ययन गरिरहेको छ ।

रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *