‘तिहार आउँदा मनमा पीर भए पनि रमाइलो’

डिसी नेपाल
३० कार्तिक २०७७ ९:१०

नुवाकोट। तिहार भनेपछि मन प्रफुल्ल नहुने को होला? तिहारका बेला खेलिने देउसी भैलीले घर आगनमा रौनकता छरिदिन्छ। हरेकले आफ्ना सम्पूर्ण दुःख पीडा बिर्सेर तिहारमा रमाउने गर्छन्।

विश्वव्यापी कोरोना महामारीका कारण यसपालिको तिहारमा सामूहिक देउसी भैलो भने खेलिने छैन। जमघट हुने र भीडभाडमा तिहार मनाउन नपाइने भए पनि खेती पातीको चटारो सकेर तिहार मनाउन पाउँदा मनमा आनन्द आएको हरिकुमार तिमिल्सिनाको भनाइ छ।

उनले भने, ‘दशैंमा मध्ये कात्तिक पर्यो। खेतीपातीको कामको चटारो भएका कारण हामीले दशैं रमाइलोसँग मनाउन पाएनौं। अब काम सकिएको छ। तिहारमा रमाइलो हुन्छ।’

विगतका वर्षहरुमा शहर बजार तथा गाउँगाउँमा देउसी र भैलीका गितहरुले सबैको कानमा अर्कै खालको तरंग भरिरहेका हुन्थे। ‘एक देउसीको टिम गयो अर्को आयो। अर्को पछि अर्को। सबैलाई पालै पालो बलिराजाले नै देउसी भैली खेल्न पठाएका हुन्थे,’ तिमिल्सिनाले भने, ‘यो वर्ष रेडियो र टेलिभिजनमा तिहारका गीत सुनेर आफ्नो मन बुझाउनु पर्ने अवस्था छ। आगनीमा देउसी भैलीका टोलीहरु आउँदैनन् होला।’

ढकमक मखमली र सयपत्रीका फूलहरुले ढाकिएको गाउँमा गाउलेका मनहरुमा पनि हजारी फूल फूलिरहेका छन् तिहारमा। आफ्नो आफ्नो उमेर समूहमा आफ्नो आफ्नो खुसी छ। केटाकेटीदेखि बुढापाकासम्म तिहारमा आ–आफ्नै कार्यका लागि रमाई रहेका पाइन्छन्।

नुवाकोटबाट माइत हिडेँकी शर्मिला सढेललाई कोरोनाको महामारीले फरक पारेको छैन। उनी प्रफूलित हुँदै माइत हिडिँन्। ‘कोरोना सोरोना त्यस्तै हो। आफू त माइत हिडिँयो,’ शर्मिलाको यो खुसीको पछाडि तिहार नै थियो। उनले डिसी नेपालसँग भनिन्, ‘दशैंमा खेतीपातीको काम पनि थियो। कोरोना पनि भयो, घरमै बसियो। त्यति राम्रो भएन। तिहारमा त माइत नगएर मनले मानेन।’

दाजुभाइ तथा दिदी बहिनीको पर्व पनि हो तिहार। एउटा दिदीबहिनीलाई दाजुभाइको आगनी टेक्नु र उनीहरुलाई आफ्नो हातको टिकामाला लगाइ दिनुलाई आफ्नो अहोभाग्य ठान्छन् दिदीबहिनीहरु।

‘दाजुभाइ सबै घरमै हुनुहुन्छ अहिले,’ शर्मिलाले भनिन्, ‘यो वर्ष जस्तो संयोग कहिलै मिलेको थिएन। कहिले भाइलाई मात्र लगाइयो कहिले दाजुलाई मात्र लगाइयो। यो वर्ष सबै घरमै हुनुहुन्छ। सबैलाई टीकामाला लगाउन पाउनु मेरो अहोभाग्य नै हो।’

ढोकामा हालेको तलको धारा जस्तै आफ्नो दाजुभाइको दीर्घायूको कामना गर्ने दिदी बहिनीहरु शत्रुको भय नरहोस भनेर ओखर फूटाउने गर्छन्। टाढा टाढाबाट भएपनि दिदी बहिनी दाजुभाइकोमा जाने वा दाजुभाइलाई बोलाउने गर्छन्। चितवनबाट नुवाकोट पुगेकी सपना रिजालले छोराछोरी छोडेर आएको सुनाइन्। ‘घरबाट कोरोनाको बेला हिड्न हुँदैन भन्दै थिए। म त एउटा दाइ हुनुहुन्छ कसरी निधार खाली राख्नु भनेर आएँ।’

मनोविद गोपाल ढकाल चाडपर्व भनेको सम्बन्धहरु सुमधुर गर्ने अवसर पनि भएको बताउँछन्। उनले भने, ‘चाडपर्वको रमझमले खुसीयाली र उमङ्ग लिएर आउँछ। चाडपर्वकै अवसरमा आफन्त तथा साथीभाइहरूसँग गरिने भेटघाट र शुभकामनाको आदन–प्रदानबाट आत्मीयता, माया, प्रेम, सद्भाव, भाइचारा, मेलमिलाप र निकटता कायम राख्न मद्दत गर्दछ। यसले मानिसलाई सामाजिक रूपमा स्वस्थ्य बनाउँछ। सम्बन्धलाई गाढा र मजबुद्ध बनाउने भेटघाटले नै हो।’

मनोविद ढकालका अनुसार विवाह गरेर छोरीचेली र माईतिको सम्बन्धलाई नजिक बनाई राख्न पनि चाडवाडले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। तिहार त झन दाजुभाई र दिदी बहिनीको प्रेमलाई मजबुद बनाउनका लागि महत्वपूर्ण रहेको छ। ‘चेलीहरू बिवाह गरी अर्काको घरमा जाने भएकाले दाजुभाइ र दिदी बहिनीबीचको सम्बन्ध टाढा हुँदै जानसक्ने सम्भावना धेरै हुने हुँदा माइती र चेली बीचको सम्बन्ध गाढा बनाइ राख्न तिहार जस्तो चाडको ठूलो महत्व छ,’ ढकालले भने।

पशुपति शर्माले गितमा भनेजस्तै ‘गावैँ रमाइलो, देशै रमाइलो। दशैं आउँदा मनमा पिर भए नि यसै रमाइलो।’ तर, गाउँका केटाकेटी र युवा युवती आफ्नो स–साने झुण्ड बनाउँदै दशैंको ठाउँमा तिहार आउँदा थपेर भन्ने गरेको सुनिन्छ, ‘तिहार आउँदा मनमा पीर भ नि यसै रमाइलो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *