प्रधानमन्त्री ओली, उपाध्यक्ष गौतम र महासचिव पौडेलबीच बालुवाटारमा छलफल

डिसी नेपाल
३० कार्तिक २०७७ १०:१७

काठमाडौं। नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओली, उपाध्यक्ष बामदेव गौतम र अर्थ मन्त्रीसमेत रहेका महासचिव विष्णु पौडेलबीच बालुवाटारमा भेटवार्ता  भएकाे छ। आइतबार विहान साँढे आठ बजे गौतम र पौडेल बालुवाटारमा पुगेकाि थिए।

शुक्रबार बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई विभिन्न आरोप लगाउँदै राजनीतिक प्रतिवेदन पेश गरेपछि ओली समूह प्रचण्डप्रति आक्रोशित बनेको छ। नेताहरुबीच आरोप प्रत्यारोप चुलिएका बेला प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतम र महासचिव पौडेलसँग छलफल गरेका हुन्।

नौ सदस्यीय सचिवालय बैठकमा उपाध्यक्ष गौतमले जसलाई समर्थन गर्यो उसैको पक्षमा बहुमत पुग्ने अवस्था छ। सुरुमा ओलीलाई साथ दिएका गौतमले पछिल्लो समय प्रचण्डलाई साथ दिन थालेका छन्।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई सरकारमा सहभागी गराउने गरी गौतमसँग परामर्श गरेका हुन्। हाल प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेका छन्। गौतमलाई वरिष्ठ उपप्रधानमन्त्री बनाएर रक्षा मन्त्रालयको जिम्मेवारी दिएर सरकारमा सहभागी गराउने तयारीमा छन्।

अदालतले गौतमलाई मन्त्री बन्ने बाटो खोलिदिएपछि गौतम सरकारमा सहभागी हुने तयारीमा छन्। यसअघि राष्ट्रपति भण्डारीले गौतमलाई भेटेर प्रधानमन्त्रीलाई सहयोग गर्न सुझाव दिएकी थिइन्। शनिबार साँझ प्रधानमन्त्री ओलीले पनि राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *