बुढेसकालमा न नागरिकता न ज्येष्ठ नागरिक भत्ता

डिसी नेपाल
१ मंसिर २०७७ २२:४०

रामपुर । रामपुर नगरपालिका—८ पिपलचौरकी ७६ वर्षीय तुलसालाई यतिखेर गाँस र बाँसको समस्या छ । साहाराबिहिन उनी अहिले छिमेकीको घरमा साहारा लिएकी छन् ।

गाँस र बाँसबाट पिडित उनलाई नेपाली नागरिकता नहँुदा सामाजिक सुरक्षा भक्ता पाउनबाट वन्चित हुनु परेको छ । तीन सन्तानमध्ये दुई छोरा र एक छोरी रहेपनि अहिले उनी सहाराबिहीन छन् ।

दुई छोरा लामो समयसम्म बेपत्ता भएपछि जेठो छोरा करिब २२ वर्ष पछाडि मात्रै घर फर्केका छन् । छोरीको बिहेदान भइसकेको छ । उनलाई बुढेसकालमा रेखदेख गर्ने सन्तान भने कोही छैनन् । जेठो श्रीमान् कुलप्रसाद पाण्डेयसँग १६ वर्षको उमेरमा विवाह गरेकी तुलसा श्रीमान्को मृत्यु भएपछि सहाराका लागि गाउँकै रमाकान्त पङ्गेनीसँग दोस्रो विवाह गरेकी थिइन् । पङ्गेनीको पनि विवाह भएको केही वर्षपछि मृत्यु भएपछि अहिले उनी एक्लो जीवन बिताइरहेकी छन् ।

पहिलो श्रीमान् कुलप्रसाद पाण्डेयबाट बनाइएको नेपाली नागरिकता हराएकी तुलसाले दोस्रो श्रीमान्को परिवारबाट नागरिकताका लागि सनाखत नगरिदिंदा पाउने सेवा सुविधाबाट वन्चित हुनु परेको छ । “पहिलो श्रीमान्ले बनाएको नागरिकता हरायो, दोस्रो श्रीमान्का दाजुभाई पक्षलाई नागरिकता बनाइदिनका लागि सनाखत गरिदिन अनुरोध गरेपनि वास्तै गरेनन्,” उनले दुखेसो पोखिन्, “कमसेकम नागरिकता भए सरकारले दिएको भत्ता खाएर त बाँच्थे”।

दोस्रो श्रीमान्को मृत्युपश्चात उनी पुनः पहिलो श्रीमानकै घर संरक्षण गरेर बसेकी थिइन् । लामो समयसम्म बेपत्ता जेठो छोरा घर फर्केर आएपछि उनलाई आफैँले जन्माएको छोराले घर निकाला गरिदिएपछि छिमेकीको घरमा कोठा भाडामा बस्छिन् ।

छिमेकीले दोस्रो श्रीमान् पक्षधरबाट नागरिकता बनाउन सहमति नभएपछि पहिलो श्रीमानबाट जन्मिएका छोरालाई आमाको नागरिकता बनाउन अनुरोध गरेपनि नमानेपछि बुढेसकालमा न नागरिकता न ज्येष्ठ नागरिक भत्ता भएको स्थानीय नेत्रप्रसाद पौडेल बताउँछन् ।

पाल्पाको पूर्वखोला गाउँपालिका—२ जल्पा माइती घर बताउने तुलसाले स्याङ्गजा आँधीखोलाका स्वर्गीय कुलप्रसाद पाण्डेयसँग वैवाहिक सम्बन्ध गाँसेकी हुन् । बसाई सरी रामपुरलाई कर्मथलो बनाएकी तुलसालाई रामपुर नगरपालिका—८ को कार्यालयले नागरिकता दिलाउन माइतीतर्फबाट जन्मदर्ता समेत झिकाएको छ ।

दोस्रो श्रीमान् पक्षकाले सनाखत नगर्नु, पहिलो श्रीमान्बाट आफैँले जन्म दिएको छोराले पनि आमालाई नागरिकता बनाउन सहयोग नगरेका कारणले समस्या बल्झिन पुगेको हो । तुलसाले २०५६ सालमा भएको निर्वाचनमा दोस्रो श्रीमान् रमाकान्त पङ्गेनी पति कायम गरी निर्वाचनमा सहभागी भई मतदान गरेको उनका छिमेकी तथा समाजसेवी मुक्तिराम अर्यालले बताए ।

नेपाली नागरिकता बनाउने कुरामा वडा कार्यालय गम्भीर रहेपनि नजिकका आफन्तले सनाखत नगरेको र यस समस्यालाई समाधान गर्ने कोशिसमा रहेको वडा सदस्य मोहन श्रेष्ठ बताउँछन् । नेपाल सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षा भक्ता पनि नपाउँदा के खाने, लाउने, कहाँ बस्ने अवस्था छ । छिमेकीको घरमा कोठा भाडा लिएर बसेको पनि एकवर्ष बित्यो । भाडा तिर्न नसक्दा छिमेकीले कोठा खाली गर्न अनुरोध गरिरहेको उनको गुनासो छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *