सोचे झैं छैन यूरोप रोजगारी, स्टेप स्टेपमा ठक्कर
काठमाडौं। यूरोपको रोजगारी नेपालीहरुको आकर्षक गतन्तव्य हो। नेपालबाट वर्षेनी हजारैं यूवाहरु ठूलो रकम खर्च गरेर यूरोप रोजगारीमा जाने गरेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ।
धेरैमा १२ लाख देखि कम्तिमा ७ लाख रुपैयाँ खर्च गरेर नेपाली युवाहरु यूरोपेली मुलुकमा रोजगारीका लागि जाने गरेको पाइएको छ। र उनीहरुले यूरोपेली मुलुकमा माशिक कम्तिमा एकलाख कमाई गर्ने अपेक्षा राख्छन्।
साँच्चै त्यति सजिलो छ त यूरोप रोजगारी। यूरोप उड्नुअघि नेपाली मेनपावर कम्पनी र एजेण्टले भने जस्तै सजिलौ यूरोप रोजगारी पाइरहेका छन् त? एक अध्ययन प्रतिवेदनले भने यसको उत्तर नकरात्मक दिएको छ। सोँचे झै छैन यूरोप रोजगारी।
बेल्जियमस्थित एक ट्रेड यूनियन सम्बन्धी गैर सरकारी संस्था एफएनभीले नेपालको इक्यूडम रिसर्च नेपाल र पोल्याण्डको यूनिभर्सिटी अफ लोड्जको सहयोगमा दक्षिण एशियाली मुलुकबाट यूरोपियन यूनियनमा आवद्ध मुलुकबाट रोजगारीमा जानेहरुको अवस्थाबारे अध्ययन गरेको छ।
र, यो अध्ययन प्रतिवेदन हालै यूरोपियन यूनियन (ईयू) का देशमा रोजगारीका लागि जाने आप्रवासी श्रमिकहरुको भर्ना प्रक्रिया, उनीहरुको रोजगारी र आवासको अवस्था जस्ता विषय समेटिएको अध्ययन प्रतिवेदन ईयू पार्लियामेन्टका पार्लियामेन्टेरियन सहित विभिन्न देशका विज्ञहरुको सहभागिता रहेको एक कार्यक्रमकाबीच सार्वजनिक भएको छ।
यो अध्ययनमा दक्षिण एशियाली र यूई रोजगारीको अवस्थाबारे अध्ययन गरि एप नि केस स्टडी भने नेपाल र पोल्याण्डमा गरिएको थियो। नेपालबाट पोल्याण्ड रोजगारीमा जानेहरुको अवस्थाबारे केस स्टडी गरेर तयार पारिएको यो प्रतिवेदनले नेपाली युवाहरु ठाउँ ठाउँमा ठक्कर खाएर सस्तोमा श्रम बेच्न बाध्य भएको निष्कर्ष निकालिएको छ।
अध्ययनका नेपालका तर्फबाट अध्ययन गरेका श्रम आप्रवासन विज्ञ रामेश्वरले नेपालले डिसी नेपालसँग भने, ‘नेपालीहरु यूरोपमा पनि ठगिएको कहाली लाग्दो अवस्था देखिएको छ।’
अध्ययनको एक उद्देश्य थियो, नेपालीहरु किन यूरोपप्रति आकर्षित छन् भन्ने थियो। अध्येयता नेपालले भने, ‘मुख्य त नेपालीहरु यूरोपप्रति आकर्षक हुनुको कारण यूरोपेली यूनियन आवद्ध मुलुकको आईडी पाइने, पछि परिवारका सदस्यहरु पनि लैजान पाइने, यूरोप पुगियो भन्ने गर्व, राम्रो कमाई हुने प्रलोभन नै हो।’
उनले सरकारले पोल्याण्ड रोजगारीमा जानेहरुबाट मेनपावर कम्पनीले ८० हजार ४ सय रुपैयाँभन्दा धेरै लिन नपाइने भए पनि ७ देखि १२ लाख नेपाली रुपैयाँ तिरे पोल्याण्ड पुगेका युवाहरु फेला परेको बताए। यो तथ्यले नेपालमा मेनपावर कम्पनीहरुले युवाहरुलाई लाखौं ऋणमा डुबाएको देखिएको प्रतिवेदनको निष्कर्ष छ।
कम्तिमा एक लाख रुपैयाँ माशिक पाइने प्रलोभनमा परेर नेपालीहरु १२ लाख रुपैयाँसम्म तिर्न तयार हुने तर, पोल्याण्ड पुगेपछि उनीहरुले नेपालमा मेनपावर वा एजेन्टले भने जस्तो तलब सुविधा केही पनि नपाउने दयनीय अवस्था हुने गरेको अध्ययनले देखाएको छ।
ठूलो ऋण गरेर यूरोप पुगिसकेपछि यूरोपमा धोका हुँदा पनि कानूनी उपचार गर्ने बाटो भने उनीहरुका लागि बन्द समेत देखिएको अध्ययनले जनाएको छ।
पोल्याण्डमा नेपालको राजदूतावास नहुनु, नेपालमा पनि पोल्याण्डको राजदूतावास नहुनुको फाइदा नेपाल र पोल्याण्डका एजेन्टहरुले उठाइरहेको अध्ययनले जनाएको छ।
अध्ययनअनुसार पोल्याण्डमा कामदार माग भएर आए पनि नेपालबाट मेनपावर कम्पनीहरुले कामदार भर्ना गरेर पोल्याण्ड पठाउँदा श्रम भिसा नभई भिजिट तथा पर्यटन भिसामा पठाउने गरेसमेत भेटिएको छ। अझ नेपालका मेनपावर कम्पनीको सम्पर्क पोल्याण्डका रोजगार दातासँग नभई जब सेन्टरसँग हुने र त्यसले गर्दा नेपालीहरु ठगिने गरेका छन्।
वैदेशिक रोजगार विभागका अनुसार सन् २०१८–१९ मा नेपालबाट ७९९३ जना यूरोपेली मुलुकमा गएकोमा पोल्याण्डमा मात्र ११९५ जना गएका थिए। यस्तै सन् २०१७–१८ मा यूरोपेली मुलुकमा ७३३९ जना नेपाली गएकोमा पोल्याण्डमामात्र ३६३० जना गएका थिए। यस्तै सन् २०१६–१७ मा ३२५६ जना यूरोपेली मुलुकमा गएका थिए, त्यसमध्ये पोल्याण्ड ५०७ जना गएका थिए।
प्रतिवेदनमा यूरोपेली मुलुक र नेपाललाई यसरी ठगिने गरेको भन्दै कानूनी उपचारको व्यवस्था तथा वैदेशिक रोजगारीमा पठाउने संयन्त्रलाई व्यवस्थित बनाउन सुझाव दिइएको छ।
Facebook Comment