प्रचण्डलाई किन भेटिन् राष्ट्रपति भण्डारीले ? के दिइन् सुझाव ?

डिसी नेपाल
२ मंसिर २०७७ २१:२५

काठमाडौं। सत्तारुढ दल नेकपामा आन्तरिक विवाद चर्किरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका नेताहरुलाई शीतल निवास बोलाएर आफ्नो चासो व्यक्त गर्दै आएकी छन्।

मंगलबार साँझ नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई राष्ट्रपति भण्डारीले शीतल निवास बोलाएर दुई घण्टा छलफल गरेकी छन्।

प्रचण्ड निकट स्रोतका अनुसार शीतल निवासबाट बोलावट भएपछि प्रचण्ड शीतल निवास पुगेका हुन्। नेकपा भित्र प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच विवाद चर्किरहेका बेला भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ। तत्कालिन एमालेकी उपाध्यक्ष रहिसकेकी राष्ट्रपति भण्डारी नेकपामा विवाद हुँदा सक्रिय हुने गरेकी छन्।

नेकपा सचिवालय बैठकमा प्रचण्डले प्रधानमन्त्री तथा अध्यक्ष ओलीमाथि गम्भीर आरोप लगाउँदै आवश्यक त्याग गर्नुपर्ने निश्कर्षसहितको राजनीतिक प्रतिवेदन पेस गरेपछि नेकपाको विवाद चरमोत्कर्षमा पुगेको छ।

ओलीले सो राजनीतिक प्रस्ताव फिर्ता लिनुपर्ने सन्देश प्रचण्डलाई दिइरहेका छन् भने प्रचण्डले सो प्रस्ताव फिर्ता नहुने बताइरहेका छन्। मंगलबार दिनभर भएका भेटमा ओली समूहले भोलिको सचिवालय बैठक सार्न प्रचण्ड समक्ष प्रस्ताव गरेको तर, प्रचण्ड त्यसमा सहमत नभएपछि साँझ राष्ट्रपति भण्डारी र प्रचण्डबीच भेट वार्ता भएको हो।

भेटमा राष्ट्रपति भण्डारीले दुई अध्यक्षलाई मिलेर जान सुझाव दिएको प्रचण्ड निकट स्रोतले बताएको छ। दुई अध्यक्ष मिलेर जाँदा कम्युनिष्ट आन्दोलन पनि अगाडि बढ्ने र देशलाई समृद्धिमा लैजान सकिने भन्दै राष्ट्रपति भण्डारीले दुई अध्यक्षलाई मिलेर जान सुझाव दिएको प्रचण्ड निकट स्रोतले बताएको छ।

तर, जवाफमा प्रचण्डले प्रधानमन्त्री ओलीको कार्यशैलीका कारण पार्टीमा विवाद भएको भन्दै प्रधानमन्त्री सच्चिय आफू मिलेर जान तयार रहेको बताएको जनाइएको छ।

राष्ट्रपति भण्डारीले नेकपा देखिएको पछिल्लो विवादपछि उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री तथा सचिवलाय सदस्य रामबहादुर थापासँग पनि भेट गरेकी छन्। उता प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच पनि छलफल भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *