वामदेवलाई कार्यबाहक अध्यक्षका लागि ओलीले प्रस्ताव गर्ने संकेत

डिसी नेपाल
२ मंसिर २०७७ २२:३३

काठमाडौं। सत्तारुढ दल नेकपामा विवाद चर्किरहेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सबै नेताहरुले त्याग गर्नुपर्ने बताएका छन्। आफू निकटहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले मंगलबार आफूलेमात्र त्याग गर्ने नभई सबै नेताहरुले त्याग गर्नुपर्ने बताएको नेकपा नेताहरुले बताएका छन्।

गएको शुक्रबार बसेको सचिवलाय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकल राजनीतिक प्रस्ताव पेस गर्दै ओलीले त्याग गर्नुपर्ने भनेका छन्। त्यसको जवाफी प्रतिवेदनको तयारी गरिरहेका ओलीले मंगलबार सबै नेताहरुले त्याग गर्नुपर्ने बताएका हुन्।

तत्कालिन एमालेका नेता प्रदीप नेपालले मंगलबार दिउँसो सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै प्रधानमन्त्री तथा ओलीले सबै नेताहरुले राजीनामा गर्ने कुरा गरेको सार्वजनिक गरेका थिए। उनले लेखेका छन्, ‘पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले पार्टी भित्रको कचपच मिलाउन सबैले राजीनामा गरौं भन्नु भएछ।’

स्रोतका अनुसार बुधबारका लागि तय भएको सचिवालय बैठक बसे ओलीले सो बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई पार्टीको कार्यबाहक अध्यक्षका लागि प्रस्ताव गर्ने सम्भावना रहेको छ। ओलीले आफूले पनि अध्यक्षबाट राजीनामा दिने र प्रचण्डले पनि अध्यक्षबाट राजीनामा दिने तथा गौतमलाई कार्यबाहक अध्यक्ष बनाउने प्रस्ताव गर्ने संकेत गरेका छन्। ओलीले पनि राजनीतिक प्रचण्डको राजनीतिक प्रस्तावको जवाफमा प्रस्ताव पेस गर्ने तयारी गरेको उनी निकट स्रोतले जनाएको छ।

https://www.facebook.com/pradip.nepal.9/posts/3761554573888107

प्रचण्डले राजनीतिक प्रस्तावमा ओलीलाई दुश्मन दलको नेतालाई जस्तो व्यवहार गरेर प्रस्ताव पेस गरेको भन्दै ओलीले पनि सोही व्यवहारमा प्रस्ताव ल्याउने तयारी गरेको स्रोतको दावी छ।

बुधबार दिउँसो एक बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्ने शुक्रबार नै तय भएको थियो। तर, प्रचण्डले राजनीतिक प्रस्ताव पेश गरेपछि ओली पक्ष बुधबारको बैठक सार्ने कसरतमा छ भने प्रचण्ड पक्ष जसरी पनि बैठक गर्ने पक्षमा छ। मंगलबार दिनभर भएका दौडधुप तथा भेटघाटमा बुधबारको बैठक सार्ने वा नसार्ने भन्ने विषयमा छलफल केन्द्रित रहेको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *