विभाजनको संघारमा नेकपा, दल विभाजन सहज बनाउन अध्यादेश ल्याउने सरकारको तयारी

डिसी नेपाल
३ मंसिर २०७७ १०:४८

काठमाडौं। सत्तारुढ दल नेकपा तथा प्रधानमन्त्री केपी शर्मा ओली कठिन मोडमा पुगेका बेला राष्ट्रपति निवास शीतल निवासमा चहलपहल बढेको छ। बुधबार दिउँसो २ बजेका लागि आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका प्रधानमन्त्री ओली यतिबेला शीतल निवास पुगेका छन्।

शीतल निवास स्रोतले यतिबेला प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच छलफल जारी रहेको जानकारी दिएको छ। शीतल निवासमा प्रधानमन्त्रीका साथमा संविधानसभाका सभामुख तथा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि पुगेका छन्।

शीतल निवासमा दल विभाजन सहज बनाउने गरी अध्यादेश ल्याउने विषयमा छलफल भएको स्रोतले जनाएको छ। स्रोतका अनुसार प्रधानमन्त्री ओलीले अध्यादेशको मस्यौदाका लागि कानूनमन्त्री शिवमाया तुम्बाहाम्फेलाई निर्देशन दिएका छन्। स्रोतले भन्यो, ‘कानूनमन्त्रीले अध्यादेशको मस्यौदा तयार पारिसक्नु भएको छ।’

अध्यादेश ल्याएर दल विभाजन गर्ने तयारी भइसकेको एक उच्च नेताले डिसी नेपाललाई बताए। यसअघि गएको बैशाखमा पनि सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको थियो। तर, नेकपाको चर्को विरोधपछि फिर्ता भएको थियो।

अहिले फेरि नेकपामा विवाद चर्किएका बेला सरकारले अध्यादेश ल्याउन लागेको हो। मौजुदा संविधानमा दल विभाजन गर्न संसदीय दलमा र केन्द्रीय कार्यसमितिमा कम्तिमा ४० प्रतिशत पुर्याउने व्यवस्था छ।

प्रधानमन्त्री ओलीको नेकपाको संसदीय दलमा ४० प्रतिशत पुग्ने अनुमान छ, तर केन्द्रीय कमिटीमा ४० प्रतिशत नपुग्ने भएपछि अध्यादेशमार्फत कानून बनाएर पार्टी विभाजनलाई सहज बनाउन लागिएको हो।

यसैबीच नेकपाका एक सांसदले सांसद किनबेच शुरु भएको दावी गरेका छन्। नाम नभन्ने शर्तमा उनले सांसदको मूल्य तोकेर सांसद किनबेच शुरु भएको बताए। तर, कुन पक्षले किनबेच शुरु गरेको हो भन्ने विषयमा केही खुलाएनन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *