नियोजित रुपमै कार्यक्रम विथोल्ने प्रयास भयो : सुरेन्द्र पाण्डे

डिसी नेपाल
६ मंसिर २०७७ १७:५७

काठमाडौं। सत्तारुढ नेकपाको केन्द्रमा देखिएको विवादको प्रभाव स्थानीय तहसम्म देखिन थालेको छ। शनिबार चितवनको राप्ती नगरपालिकाको वीरेन्द्रनगरमा नेकपा नगर वडा कमिटीको कार्यक्रममा स्थायी कमिटी सदस्य तथा सोही निर्वाचन क्षेत्रका निर्वाचित प्रंतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा केही युवाहरुले विथोलेका छन्।

यसरी कार्यक्रम विथोलिनु नियाृजित नै रहेको पाण्डेले बताएका छन्। चितवनमै रहेका पाण्डेले डिसी नेपालसँग फोनमा भने, ‘वडा कमिटीको कार्यक्रम थियो, ठूलो भेला पनि होइन। म मेरो भनाई सक्काउनै लाग्दा नारावाजी भयो। घटनक्रमलाई हेर्दा यो नियोजित जस्तै देखियो।’

उनले अगाडि थपे, ‘मैले भनाईको अन्तिममा मदन भण्डारी फाउण्डेशन, पुष्पलाल स्मृति प्रतिष्ठान लगायतका संस्थाहरुले पार्टीमा गुटबन्दी बढाउने आधार सुरु गरेकाले कार्यदलबाट सर्वसम्मत रुपमा अहिलेलाई यस्ता प्रतिष्ठानले कार्यक्रम नगर्ने निर्णय भएको बताइरहँदा केही युवाहरु उभिएर, मदन भण्डारी फाउण्डेशन जिन्दावाद, जबज जिन्दावाद, राजनेता केपी ओली जिन्दावाद जस्ता नारा लगाए।’

उनले कार्यक्रमको शुरु देखि नै त्यहाँ शंकास्पद गतिविधि भएको बताए। उनका अनुसार ओली निकट नेतृ राप्ती नगरपालिककी मेयर प्रभा बरालले आशनग्रहण गर्दा ती युवाहरुले जोशका साथ ताली बजाएका थिए भने अन्य नेताहरुले आशन ग्रहण गर्दा चुपचाप लागेका थिए। उनले भने, ‘कोही नेताले आशन ग्रहण गर्दा ताली बजाउने कसैले गर्दा चुप लाग्ने देखिएको थियो। यसले के संकेत गर्छ, भने यो घटना नियोजित थियो।’

उनले शनिबारको घटना अराजनीतिक भएको समेत टिप्पणी गरे। उनले यस्ता घटनाले पार्टीमा समस्या ल्याउनेसमेत बताए।

स्मरण रहोस नेकपामा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अगुवाईमा रहेका नेताहरुबीच विवाद चुलिएको छ। नेता पाण्डे प्रचण्डको अगुवामा रहेको समूहमा वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिन्छन्। यसअघि गएको असारमा पनि पार्टीमा विवाद हुँदा ओली निकट युवा विद्यार्थीहरुले सडकमा प्रदर्शन गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *