महामारीको बेलामा सरकार रमिते बन्याे : नेता सिंह

डिसी नेपाल
७ मंसिर २०७७ १०:४८

काठमाडाैं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोना महामारीको बेला समेत सरकार रमिते बनेको बताएका छन्।  आइतबार आफ्नो निर्वाचन क्षेत्रमा मतदाताहरुसँगको भेटघाटका क्रममा उनले यस्तो विषम परिस्थितिमा समेत सरकार भ्रष्टाचारमा लिप्त रहेको र जनजीविकाको सवालमा गैरजिम्मेवार बनेको आरोप लगाएका हुन्।

‘यो सरकार स्वार्थमा डुबेको छ। भ्रष्टाचारमा लिप्त छ,’ पूर्वउपप्रधानमन्त्रीसमेत रहनु भएका नेता सिंहले भने, ‘मुलुकका तमाम समस्यामा सरकार बेखबर छ। यो लोकतन्त्रवादीहरुका लागि समेत अशोभनीय हो।’

सरकारले संघीयताको मर्म र भावनाअनुसार नीति निर्माणमा समेत चासो नदिनु दुःखद भएको उनले बताए। यतिबेला आफूहरुले प्रमुख प्रतिपक्षीको रुपमा उठाउनु पर्ने विषय उठाउँदै आए पनि सरकारले नसुनेको उनले बताए।

कोरोना महामारीका कारण तत्कालै सडक आन्दोलनमा जाने अवस्था नरहेको बताउँदै उनले भने, ‘भन्नुपर्ने ठाउँमा भनेकै छ, बोल्नुपर्ने ठाउँमा सबैले बोलेकै छ तर यो सरकारले सुन्दैन। यो सरकारले न जनताको आवाज सुन्छ, न प्रतिपक्षीको।’

सरकारले कोरोना महामारीको बेला गर्नुपर्ने न्युनतम काम पनि गर्न नसकेको बताउँदै उनले अब आफ्नो सुरक्षामा आफैं लाग्नुपर्ने बताए। ‘कोरोना महामारीको बेलामा सरकारले के गर्याे अब यो भनिरहनु परेन,’ उनले भने, ‘ अब गर्छ भन्ने आस गर्ने ठाउँ पनि रहेन। यसर्थ आफैं आफ्नो सुरक्षामा लाग्नुपर्छ।’

काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता सिंहले अब संसद बैठक तत्काल डाकेर हरेक विषयमा छलफल हुनुपर्ने बताए। आफ्नो निर्वाचन क्षेत्रमा स्थानीय नागरिकसँग सामाजिक दुरी कायम राख्दै उनले विकास निर्माण र जनगुनासो सुन्दै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *