प्रचण्डलाई प्रस्ताव फिर्ता लिन ओली समूहको निरन्तर दबाव

डिसी नेपाल
७ मंसिर २०७७ १३:५६

काठमाडौं। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई विभिन्न आरोप लगाउँदै सचिवालयमा १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन दर्ता गराएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ।

आफूमाथि विभिन्न अरोप लगाउँदै प्रचण्डले सचिवालयमा दर्ता गराएको प्रतिवेदनको कडा प्रतिवाद गरेका ओलीले त्यसको जवाफमा अर्को प्रतिवेदन ल्याउने बताइ सकेका छन्। ओली अहिले प्रतिवेदन लेखनमा लागेको उनी निकट स्रोतले जनाएको छ।

तर ओली निकट नेताहरुले भने प्रचण्डले पेश गरेको प्रतिवेदन फिर्ता लिन दबाव दिइरहेका छन्। प्रचण्डसँग निरन्तर भेट गर्दै ओली निकट नेताहरुले प्रतिवेदन फिर्ता लिएर पार्टी एकता जोखाउन आग्रह गर्दै निरन्तर दबाव दिइरहेका छन्।

गत शुक्रबार ओली निकट मानिने महासचिव विष्णु पौडेल तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रचण्डसँग लामै छलफल गरे। उक्त छलफलमा उनीहरुले पार्टी एकतालाई जोगाउन प्रचण्डलाई आग्रह गरे। पछिल्लो समय ओली र प्रचण्डबीच सम्बन्ध चिसिएको छ।

उनीहरुबीच प्रत्यक्ष भेटवार्ता नभएपनि आफू निकटमा नेतामार्फत सन्देश आदान प्रदान भने भइरहन्छ। ओली समूहका नेताहरुले प्रतिवेदन फिर्ता लिन दबाव दिएपनि प्रचण्डले फिर्ता लिने जवाफ दिइसकेका छैनन्। तर उनी पार्टी एकता जोगाउन आफूले त्याग गर्ने बताउने गरेका छन्।

‘उहाँले प्रतिवेदन फिर्ता लिने कुरा त गर्नु भएको छैन, तर पार्टी एकता जोगाउन त्याग गर्न तयार रहेको बताउनु भएको छ,’ प्रचण्डसँग निरन्तर सम्पर्कमा रहेका ओली निकट एक नेताले डिसी नेपाल भने, ‘उहाँले भनेको त्याग के हो त्यो खुलाउनु भएको छैन।’

त्यसो त प्रचण्डमाथि आफू निकटका नेताहरुले पनि ओलीमाथि लगाएका आरोप फिर्ता लिन दबाव दिन थालेका छन्। प्रचण्डले प्रतिवेदन फिर्ता नलिने र ओलीले पनि त्यसको काउन्टरमा प्रतिवेदन ल्याउँदा विवाद झनै बढ्ने र त्यसले पार्टी एकता धरापमा पर्ने भन्दै विषयलाई थप विवादित नबनाउन र एकता प्रक्रियालाई जोखाइराख्न ओलीमाथि लगाइएको आरोप फिर्ता लिन दबाव दिएका हुन्।

पूर्व माओवादीतर्फका टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, मणि थापालगायतका नेताले ओलीमाथि लगाएका आरोप फिर्ता लिन प्रचण्डलाई दबाव दिएका हुन्। निरन्तर दबावमा परेका प्रचण्डले आफूले प्रतिवेदनमा ओलीप्रति अली बढी नै आरोप लगाएको महशुश हुन थालेको बताउन थालेको उनी निकट एक नेताले बताएका छन्।

नेकपाभित्रको विवाद समाधानका लागि आन्तरिक शक्ति सन्तुलनले मात्रै भन्दा पनि बाहिरी प्रभावमा भर पर्ने कतिपय विश्लेषकहरुले बताउने गरेका छन्।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *