विप्लवले सैन्य गतिविधि गरेपछि प्रधानमन्त्रीद्वारा चारवटै सुरक्षा प्रमुखहरुसँग छलफल

डिसी नेपाल
७ मंसिर २०७७ १८:०९

काठमाडौं। प्रतिबन्धित नेकपा विप्लव समूहले जंगलमा सैन्य गतिविधि गरिरहेको सूचना आएसँगै प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन्।

आइतबार दिउँसो प्रधानमन्त्री ओलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रतिनिधिसँग छलफल गरेका हुन्। प्रधानमन्त्रीको निजी सचिवालयले यसलाई नियमित छलफल भएको बताए पनि विप्लव समूहले सोमबार देशभर विभिन्न कार्यक्रम गर्ने र सैन्य प्रर्दशन समेत गर्ने सूचनासँगै प्रधानमन्त्रीले सुरक्षा निकायका अधिकारीहरुसँग सुरक्षा व्यवस्थाबारे जानकारी लिएका हुन्। प्रधानमन्त्रीले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानीरिक्षक शैलेश क्षेत्री थापा, सशस्त्र प्रहरीका महानीरिक्षक शैलेन्द्र खनाल, तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीसँग सुरक्षा विफ्रङ लिएका हुन्।

प्रधानमन्त्री ओलीले सुरक्षा निकायका प्रमुखसँग मुलुकको पछिल्लो समसामयिक विषयमा छलफल गरेका हुन्। छलफलमा सीमा सुरक्षा, राष्ट्रिय सुरक्षा, प्रतिबन्धित नेत्रविक्रम चन्द्र ‘विप्लव’ समूहका गतिविधिका विषयमा छलफल भएको स्रोतको दाबी छ।

प्रतिबन्धित विप्लव समूहले सातौं पुनर्गठन दिवस मनाउने तयारी गरिरहेको छ। योसँगै प्रहरीले राजधानी लगायत देशभर सुरक्षा व्यवस्था कडा पारेको छ। प्रधानमन्त्रीलाई भेटेर आएपछि तीन वटा सुरक्षा निकायका प्रमुखहरु गृहमन्त्री रामबहादुर थापा वादलसँग गृहमन्त्रालयमा छलफल गरेका थिए। गृहमन्त्रालयमा भने तीन वटा सुरक्षा निकायका प्रमुखमात्रै पुगेर पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *