राजनीति मूल्य, मान्यतामा आधारित हुनुपर्छः अध्यक्ष यादव
दमौली । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीति मूल्य, मान्यतामा आधारित हुनुपर्ने बताएका छन् ।
जनता समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष स्व भीमप्रसाद गौतमको १३औँ दिनको पुण्यतिथिमा आज आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै उनले जबसम्म राजनीति मूल्य र मान्यतामा आधारित हुँदैन, तबसम्म देश र जनताको हित हुन सक्दैन भनेका छन् ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले भने, “राजनीति आदर्श र लक्ष्यप्रति केन्द्रित नभएसम्म त्यो राजनीतिले देश र जनताको हित गर्न सक्दैन । त्यो राजनीति नभएर एक खालको पेशा हो ।”
उनले राजनीति पेशा नभई सेवा भएको उल्लेख गर्दै मुलुकलाई सामाजिक आर्थिक रुपान्तरणबाट अगाडि बढाउनुपर्ने अहिलेको मुख्य आवश्यकता रहेको औँल्याए ।
अध्यक्ष यादवले लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कार्य नेपालको आन्दोलनको सबैभन्दा ठूलो उपलब्धि रहेको चर्चा गर्दै यस उपलब्धिलाई संस्थागत गर्नु आजको आवश्यकता रहेको बताए ।
लोकतान्त्रिक मूल्य, मान्यता, विधि र प्रक्रियाबाट शासन प्रणालीलाई अगाडि बढाउनुपर्ने बताउँदै उनले वर्तमान परिस्थितिमा लोकतान्त्रिक शक्ति र संस्था कमजोर हुँदै गएकाले वैचारिक सिद्धान्त र आदर्शका कुरामा पनि ह्रास हँुदै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।
अध्यक्ष यादवले जनताको मुक्ति र अधिकारका लागि सङ्घर्षरत रहनुभएका स्व गौतमको निधनले देशलाई अपूरणीय क्षति पुगको बताए । “शोषित पीडित जनताका पक्षमा स्व गौतमले गर्नुभएको राजनीति र सामाजिक आन्दोलन महत्वपूर्ण छ”, उनले भने, “स्व गौतमले गरेका कार्यलाई सम्झिने, कदर गर्ने गर्नुपर्छ ।”
गौतमले राजनीतिक, सामाजिक क्षेत्रमा पु¥याएको योगदानलाई सङ्ग्रह गरेर उनका विषयमा पुस्तक प्रकाशित गर्न आवश्यक रहेको यादवको भनाइ थियो । रासस
Facebook Comment