प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता, प्रचण्डलाई चिनियाँ राष्ट्रपतिको किताब उपहार

डिसी नेपाल
८ मंसिर २०७७ १२:२५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्छीबीच भेटवार्ता भएको छ। प्रचण्ड निवास खुमलटारमा सोमबार विहान उनीहरुबीच भेटवार्ता भएको हो।

अध्यक्ष दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले दिएको जानकारी अनुसार अध्यक्ष प्रचण्ड र राजदूत याङछीवीच करिव आधा घण्टा भेटवार्ता भएको छ। चिनियाँ राष्ट्रपति सि जिन पिङले लेखेको नयाँ पुस्तक पनि राजदूतले उपहारस्वरुप प्रदान गरेकी छन्।

‘ढिलै भए पनि नेपाली चाडवाड दशैं, तिहार र छठको शुभकामना आदान प्रदान पनि गर्नु भएको छ,’ सापकोटाले भने, ‘नेपाल चीन दुई देशको सम्बन्धका विषयमा पनि उहाँहरुबीच छलफल भएको हो।’

नेकपा भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला चिनियाँ राजदूतको भेटघाट कार्यक्रम तीब्र भएको छ। यसअघि प्रधानमन्त्री समेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई पनि राजदूत याङ्छीले भेट गरेकी थिइन्।

अध्यक्ष दाहाल र याङ्छीबीच के कुरा भयो भन्ने बाहिर नआए पनि चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणको पूर्व सन्ध्यामा भएको उनीहरुको भेटले अर्थ राख्ने जानकारहरु बताउँछन्। नेकपा विवाद मिलाउन सक्रिय भूमिका खेलेकी राजदूत याङ्छी प्रचण्डलाई समेत भेट्न खुमलटार पुगेकी हुन्।

चिनियाँ रक्षामन्त्री वइफेङ्हे यहि मंसिर १४ मा नेपाल भ्रमणमा आउँदैछन् भने त्यस अघि नै मंसिर १३ गते नेकपाको सचिवालय बैठक पनि बस्ने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *