महिलामाथि हुने हिंसा निकृष्ट अपराध हो, हिंसा अन्त्य गर्न सबै जुट्नुपर्छः मन्त्री श्रेष्ठ

डिसी नेपाल
१० मंसिर २०७७ २३:३२

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले महिलामाथि हुने हिंसा मानव अधिकार हननको निकृष्ट अपराध भएको बताएका छन्।

महिला पुनस्र्थापना केन्द्र (ओरेक) द्वारा महिला हिंसाविरुद्धको दिवसका अवसरमा आयोजित ‘अन्वेषी’ पुस्तक लोकार्पण कार्यक्रममा उनले हिंसा न्यूनीकरणका लागि मन्त्रालय सधैँ प्रतिबद्ध रहेको बताए । साथै उनले आफ्ना नीति निर्माणमा लैङ्गिक समानता तथा हिंसा अन्त्यका लागि प्रभावकारी कदम चाल्न मन्त्रालयले तीनै तहका सरकारलाई निर्देशनसमेत दिएको बताए।

महिलामाथि हुने हिंसा अन्त्यका लागि सरकारलगायत प्रत्येक व्यक्ति, परिवार सङ्घसंस्था आदि सबैको सहकार्य तथा ऐक्यबद्धता आवश्यक रहेको मन्त्री श्रेष्ठको भनाइ छ ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगका सचिव शान्ता अधिकारी भट्टराईले सबैभन्दा बढी हिंसा घरभित्रै भएको तथ्याङ्कले उजागर गरेको भन्दै घरभित्र बाट नै हिंसा निवारणका लागि अभियान सञ्चालन गर्नुपर्ने र हिंसाको अन्त्य विना समानतामूलक समाजको निर्माण हुन नसक्ने धारणा व्यक्त गरिन् ।

कार्यक्रममा हिंसा प्रभावित महिलाको राष्ट्रिय सञ्जालका अध्यक्ष शान्ति पासवानले लामो र झन्झटिलो कानूनी प्रक्रिया, कानूनको प्रभावकारी कार्यान्वयनको अभावले गर्दा हिंसा प्रभावित महिलाले न्याय प्राप्त गर्ने अधिकार सुनिश्चित हुन नसकेकामा सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।

महिला हिंसाविरुद्धको वर्ष पुस्तक ‘अन्वेषी’ मा ‘जुलाई २०१९ देखि जुन २०२०’ सम्म ओरेकमा अभिलेखीकरण गरिएका महिलामाथि भएका कूल एक हजार ७०७ हिंसाका घटनाको विस्तृत विश्लेषण गरिएको छ । जसमध्ये सबैभन्दा बढी एक हजार १४५ महिलामाथि घरेलु हिंसाका घटना छन् ।

त्यसैगरी, १८९ महिला सामाजिक हिंसाबाट, १७८ महिला बलात्कारबाट, ४० महिला बलात्कारको प्रयासबाट, ६३ महिला यौनिक हिंसाबाट प्रभावित भएका घटना छन् । यसैगरी १३ महिलाको हत्या, दुई महिलाको हत्याको प्रयास, १० महिलाको बेचबिखन र तीन महिलाको बेचबिखनको प्रयास भएको पाइएको पुस्तकमा उल्लेख छ ।

महिला हिसांकै कारण ३८ जनाले आत्महत्या गरेको र चार महिलाले आत्महत्या प्रयास गरेका घटनाहरु अभिलेखीकरण गरिएको छ ।

ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेले समाजमा स्थापित विभेदपूर्ण सामाजिक संरचनाका कारण महिलालाई हेर्ने विभेदपूर्ण दृष्टिकोणमा व्यक्तिगतदेखि नीतिगत तहसम्म परिवर्तन हुन नसकेका कारण घरेलु हिंसा तथा महिलामाथि हुने हिंसाले निरन्तरता पाउँदै धारणा व्यक्त गरे । कोभिड–१९ को महामारीको समयमा महिला तथा बालिकामाथि भएको हिंसाको जोखिमको अवस्थालाई समेत कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

यस अवधि (गत चैत ११ देखि गत साउन ६ गतेसम्म) मा मात्रै कूल एक हजार ४२ महिला तथा बालिकामाथि विभिन्न स्वरुपमा हिंसा भएको पाइएको छ । समग्र तथ्याङ्कको ६१ प्रतिशतभन्दा बढी घटना यसै समयमा भएको देखिएको छ ।

त्यसैले महामारी तथा विपत्तिको अवस्थालाई दृष्टिगत गर्दै जुनसुकै विषम परिस्थितिमा पनि हिंसा प्रभावित महिलाले आफूमाथि भएको हिंसालाई सहज रुपमा उजुरी गर्ने र न्याय पाउने वातावरण तयार गर्न सरकारले जोड दिनुपर्ने कार्यकारी निर्देशक न्यौपानेले बताए । भर्चुअल माध्यमबाट भएको कार्यक्रमलाई सहजीकरण ओरेकको महिला हिंसाविरुद्धको अभियानका वरिष्ठ कार्यक्रम संयोजक सञ्जिता तिम्सिनाले गरेकी थिइन्।

कार्यक्रममा सरकारी, गैरसरकारी सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकार तथा मानव अधिकारको सवालमा क्रियाशील महिला मानव अधिकार रक्षकहरु/अधिकारकर्मी लगायतको सहभागिता थियो । ओरेकले सन् २००८ देखि नै देशभरबाट महिलामाथि हुने हिंसाका घटनाहरुको अभिलेखीकरण गरी महिला हिंसाविरुद्धको वर्ष पुस्तक ‘अन्वेषी’ महिला हिंसाविरुद्धको दिवस २५ नोभेम्बरका दिन हरेक वर्ष प्रकाशन गर्दै आएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *