‘भ्रष्टाचारिको अनुहार नहेर्ने’ प्रधानमन्त्रीलाई ट्रान्सपरेन्सीको प्रतिवेदन पढ्न कांग्रेसको आग्रह
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन पढ्न आग्रह गरेको छ। शनिबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा एक विज्ञप्ति जारी गर्दै कांग्रेसले यस्तो आग्रह गरेको हो।
वर्तमान सरकार बनेपछि मुलुकमा भ्रष्टाचार व्यापक बढेको र प्रधानमन्त्री स्वयंले संरक्षण गरेको भनेर नेपाली कांग्रेसले व्यक्त गरिआएको समीक्षालाई ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनले पुष्टि गरेको कांग्रेसको भनाइ छ।
भ्रष्टाचारीको संरक्षण स्वयं प्रधानमन्त्रीले गरिरहेको किटानी विवरण प्रतिवेदनमा रहेको स्थिति देशकै लागि लज्जास्पद बनेको समेत कांग्रेसले आरोप लाएको छ ।
‘प्रतिपक्ष ,आम संचार माध्यम देखि ट्रान्सपरेन्सी इन्टरनेशनल सम्मले मात्रै होईन पछिल्लो एकबर्षमा भ्रष्टाचार व्यापक वृद्धि भएको बुंदागत तथ्य स्वयं नेकपा भित्रै समेत लिखित रुपमै प्रस्तुत भइ सकेको स्थितिमा भ्रष्टाचारका विरुद्ध अझ प्रखर आवाज उठ्न, उठाउन र तीब्र दबाब सृजना गर्न जरुरी छ । सालिन ढंगले जारी हाम्रो प्रस्तुतिलाई क्रमशः सशक्त बनाउंदै अघि बढ्न हामी दृढ प्रतिबद्ध छौं ।’ विज्ञप्तिमा उल्लेख छ ।
ट्रान्सपरेन्सी इन्टरनेनलले गरेको एक अध्ययनमा नेपालका प्रधानमन्त्रीलगायत उच्च पदस्थ अधिकारीले भ्रष्टाचार गर्ने गरेको धेरैजसो नेपालीले प्रतिक्रिया दिएको भन्दै प्रतिवेदन सार्वजनिक गरेको थियो।
Facebook Comment