विश्वमा कोरोना : संक्रमितको संख्या ६ करोड ५० लाख नजिक, २४ घण्टामा थपिए ६ लाख ३२ हजार
काठमाडौं । विश्वमा कोरोना संक्रमित हुनेको संख्या ६ करोड ५० लाखका नजिक पुगेको छ। वल्र्डोमिटरले दिएको जानकारी अनुसार गत २४ घण्टामा ६ लाख ३२ हजार ३ सय ७ कोरोनाका संक्रमित थपिएसँगै विश्वमा कोरोना संक्रमित हुनेको संख्या ६ करोड ४८ लाख २० हजार ७ सय १८ पुगेको हो।
हालसम्म विश्वमा कोरोनाको संक्रमणबाट १४ लाख ९८ हजार ३ सय १६ जनाले ज्यान गुमाएका छन् भने ४ करोड ४९ लाख २१ हजार ४ सय २३ संक्रमितहरु संक्रमण मुक्त भएका छन्।
गत २४ घण्टामा सबैभन्दा बढी कोरोना संक्रमितहरु अमेरिकामा थपिएका छन्। अमेरिकामा २ लाख ३ हजार ५७ जना कोरोनाका संक्रमित थपिएसँगै त्यहाँ संक्रमित हुनेको संख्या १ करोड ४३ लाख १३ हजार ५ सय ७१ पुगेको छ। हामलसम्म अमेरिकामा २ लाख ७९ हजार ८ सय ६३ जनाको कोरोनाका कारण ज्यान समेत गइसकेको छ।
अमेरिकापछि कोरोनाबाट धेरै संक्रमित ब्राजिलमा थपिएका छन्। गत २४ घण्टामा ब्राजिलमा ४८ हजार १ सय २४ जना कोरोनाका संक्रमित थपिएको वल्र्डोमिटरले जनाएको छ। यो सँगै त्यहाँ कोरोनाबाट संक्रमित हुनेको संख्या ६४ लाख ३६ हजार ६ सय ५० पुगेको छ। कोरोनाका कारण १ लाख ७४ हजार बढीले ज्यान गुमाएको ब्राजिलमा ५६ लाख ९८ हजार ३ सय ५३ जनाले कोरोनाको संक्रमणबाट मुक्ति पाएका छन्।
विश्वमा नै सबैभन्दा बढी कोरोनाबाट मुक्ति पाउनेको संख्या भारतमा रहेको छ। गत २४ घण्टामा थपिएका ३३ हजार ७ सय ६१ नयाँ संक्रमित सँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९५ लाख ३३ हजार ४ सय ७१ रहेको छ। हालसम्म १ लाख ३८ हजार ६ सय ५७ जनाले कोरोनाका कारण ज्यान गुमाएको भारतमा ८९ लाख ७० हजार १ सय ४ जना निको भएका छन्।
गत २४ घण्टामा टर्कीमा ३१ हजार ९ सय २३, रसियामा २५ हजार ३ सय ४५, इटालीमा २० हजार ७ सय ९, जर्मनीमा २० हजार १ सय ७१, युकेमा १६ हजार १ सय ७०, फ्रान्समा १४ हजार ६४ र पोल्याण्ड, इरान र यूक्रेनमा १३ हजार बढी नयाँ कोरोनाका संक्रमितहरु थपिएका हुन्।
Facebook Comment