व्यंग्य : चर्केको हाँडी

डिसी नेपाल
१९ मंसिर २०७७ १०:३८

दलका कार्यकारी अध्यक्षसहितका वरिष्ठ नेताहरुको समूहले आफूहरुलाई अर्का अध्यक्षले कुनै गिन्ती नगरेपछि लौन दया गरेर एउटा बैठक राखिदिन पर्यो भनेर बिन्ती गरेछन्।

सरकार गठन भएर काम सुरु गरेको मितिबाट सरकार प्रधानको कुर्सीको खुट्टा काट्न पाए सबैखाले टुट्टा बेहोर्न तयार भएर उनले आफूसँग भएका सबै बुट्टा देखाउँदै आउँदा पनि सरकार प्रधानले झन्झन् बलियो गरी कुर्सी समातेर बसेको र कुनैपनि हालतमा कुर्सी छोड्दिन भनेर कम्मर कसेको हुनाले यीनलाई सारै पिरलो भएको छ।

किड्नीका दीर्घरोगी, सदाबहार जटिल उपचार र डाइलासिस आदिले गर्दा किड्नीकै कारणले सरकार प्रधानको कुर्सी छिटै आपसेआफ खाली भइहाल्छ र कार्यकारी, बकसे, टिके वा जस्तोसुकै भनेपनि अध्यक्षको हैसियतले सर्लक्क त्यो ठाउँमा आफ्नाे नाम गइहाल्छ अनि त्यसमा बसेर ढलिमली गर्दै दाम कमाएर कार्यकर्ताहरुलाई समेत सबै सुख सुविधा हाम गराउने योजनासहित सबै नैतिकताहरुलाई लत्याएर गरिएको एकतालाइ सबैले पत्याएर बसेका थिए।

आफ्नै देशमा सजिलो तरिकाले किड्नी प्रत्यारोपण गरेपछि पहिले भन्दा स्वस्थ, तन्दुरुस्त र सक्रिय भएर काम गर्दै र जे गरेपनि आँखा तर्दै अर्का अध्यक्षलाई काम गर्न नदिएपछि अर्का अध्यक्षलाई पिर पर्नु स्वाभाविक हो।

देश र जनताको लागि ठूला ठूला काम गरेर सबैलाई सुख सुविधा दिलाउने र जनतालाई बसिबसी खाने मन्त्र पिलाउने सोचसहित पार्टी एकता गरेको भन्ने सबैले बुझिदिएकोमा भित्रभित्र खुसी हुँदै सरकार प्रधानको कुर्सीतिर हेरेर सुन्दर भविष्यको कल्पना गर्दै मुख मिठ्याएर बसेको बेलामा बिग्रिएको किड्नी फेरेपछि सपना तुहिएको, आफूमात्रै बाठो छु भन्ने सोचेपनि सपनाको कुरा बाहिर चुहिएको र औकातभन्दा ठूलो गोप्य योजना कुहिएको यकिन भएपछि सबैथोक बिर्सेर राजनैतिक नाङ्लो ठटाउने र सरकार प्रधानलाई कुर्सीबाट हटाउने तरिका अपनाएको पाइयो।

सरकार प्रधानसमेत भएका एकजना अध्यक्षलाई सुरुको दिनबाटै आफ्नाे कुर्सी जोगाउने बाहेक अन्यत्र ध्यान भएन र अर्का अध्यक्षलाई सरकार प्रधानको कुर्सी कसरी हत्याउने भन्नेमात्रै ध्यान भएकोले आफूले गर्नपर्ने सबै कामहरुलाइ लत्याउने गरेको पाइयो। यसले गर्दा न सरकार प्रधानले जिम्मेवारी अनुसारको काम गरे न अध्यक्षले पार्टीको काम गरे।

सरकार प्रधानपनि के कम, आखिर एउटै सिद्धान्त पढेका र एउटै तरिकाले अगाडि बढेका हुनाले मुखले दुइजनाको हैसियत बराबर भनेपनि ब्यबहारमा एउटालाइ हुक्के बैठके सरहको हैसियतमा राखेपछि कुरा मिल्ने कुरै आएन। यहीँबाट सुरु भयो सबै लफडा।

पटक पटक सरकार प्रधान भएर त्यहाँको सबै तौरतरिका जानेका र आफैंले आफैंलाई महान नेता मानेका व्यक्तिलाई सामान्य ठानेका सरकार प्रधानलाई कुर्सीबाट खँगारेर बदला लिने योजनामा पहिले सरकार प्रधान भइसकेका र वर्तमान सरकार प्रधानको नजरमा सामान्य कार्यकर्ताको हैसियतमा गइसकेका अन्यलाइपनि मिलाएर विरोध गर्न सके बल पुग्ने हुनाले गठबन्धन गर्न परिहाल्यो।

एक्लै हिँड्न र अरुसित भिड्न सक्ने शक्ति नभएकोले स्वार्थवश एकीकृत दलको शिर्ष नेतृत्वमा भएका सबैको मुखमा रामराम बगलिमा छुरा छ भन्ने कुरा घाम जत्तिकै छर्लँग छ। सबैले आ–आफ्नाे स्वार्थ भजाउने र थर्काएर तर्साएर जे हातमा पर्छ त्यही बजाउने नीति लिएको हुनाले कसैको कसैप्रति विश्वास छैन।

एकता गरेको मितिबाट चिरा परेको र स्वार्थले एकअर्काको निद्रा हरेको एकतामा यहाँसम्म आउँदा नेतृत्व तहमा रहेका सबैको राजनैतिक औकात स्वाट्टै झरेको उहाँहरुलाई अझै थाहा नभएको हो कि अहिलेसम्म बचेको अलिअलि लाज शरमपनि पूरै पचेको हो कसैले केही बुझ्न सकेका छैनन्।

चुनावमा बडारिने डरले कतै केही नहेरिकन एकता गरेर सत्तामा मजाले मडारिने आशाले गरिएको एकता चुनाव पछिको भागवन्डा मिलाउन र सबैको इच्छा अनुसारको सुख सुविधा दिलाउन नसकेपछि र ठूलो भाग खानको लागि सबैको मुख चिलाउन थालेपछि आहारा पुर्याउन गाह्रो पर्नु स्वाभाविकै हो।

सरकार प्रधानको एउटा कुर्सीको लागि हानथाप गर्ने र त्यहाँ पुग्नको लागि जे गर्नपनि अघि सर्ने कारणले अहिलेको समस्या आइपरेको हो। ल बराबर हैसियतको अध्यक्ष भयौ भनेर टिका लगाइदिए जस्तो सरकार प्रधानको अर्को एउटा कुर्सी थपेर बसाल्ने र त्यहीँ बसेर एकअर्कालाई खसाल्ने गरेर जनतालाई भरपुर मनोरञ्जनको व्यवस्था गर्नपनि मिलेन।

जसले जे बहाना बनाएपनि र आफ्नो तर्फबाट जे जस्तो प्रतिबद्धता जनाएपनि हत्ते पारेको यसैले हो। दुईवटा महान शत्रुजस्ता देखिने नेताहरुद्वारा अचानक एकताको सम्झौता लेखिने घोषणा हुँदैमा यो दिन आउँछ भन्ने सबैको अड्कल थियो।

चुनावमा बडारिने डरले कतै केही नहेरिकन एकता गरेर सत्तामा मजाले मडारिने आशाले गरिएको एकता चुनाव पछिको भागवन्डा मिलाउन र सबैको इच्छा अनुसारको सुख सुविधा दिलाउन नसकेपछि र ठूलो भाग खानको लागि सबैको मुख चिलाउन थालेपछि आहारा पुर्याउन गाह्रो पर्नु स्वाभाविकै हो।

सरकार प्रधानसमेत भएका एकजना अध्यक्षलाई सुरुको दिनबाटै आफ्नाे कुर्सी जोगाउने बाहेक अन्यत्र ध्यान भएन र अर्का अध्यक्षलाई सरकार प्रधानको कुर्सी कसरी हत्याउने भन्नेमात्रै ध्यान भएकोले आफूले गर्नपर्ने सबै कामहरुलाइ लत्याउने गरेको पाइयो। यसले गर्दा न सरकार प्रधानले जिम्मेवारी अनुसारको काम गरे न अध्यक्षले पार्टीको काम गरे।

उनीहरुलाई भोट हालेर जिताउने जनतालाई चाहिँ दुवैले बिताउने बाहेक केही नगरेको हुनाले जनताको भलो चिताउने भन्ने भनाइ चुनावमा भोट नखसालुन्जेलको लागि मात्रै रहेछ भन्ने अझ धेरै प्रष्ट भयो।

झण्डै दुई तिहाइको सरकार बनेको र यसलाई जनताको सरकार भनेको झण्डै तीन वर्ष भइसक्दा र सरकारको आधाभन्दा बढि अवधी गइसक्दापनि शीर्ष भनिएका र ज्यादै वरिष्ठमा गनिएका नेताहरुले मन वचन र कर्मले ज्यान फालेर सम्पूर्ण ध्यान सरकार प्रधानको कुर्सीमा केन्द्रित गरेको हुनाले जनताले यसमा चासो राख्न छाडिसकेका छन्।

सरकार गठन भएको दिनदेखि यति बजे बालुवाटार छिर्नुभयो यति बजे त्यहाँबाट फिर्नुभयो भन्ने बाहेक अरु खासै समाचार नसुनेका जनताले अहिले सुनेको नयाँ समाचारमा दुबै अध्यक्षहरुले पेश गरेको प्रतिबेदनका समाचारहरु हुन्।

सरकार गठन भएको मितिबाट सुरु भएको दुई अध्यक्ष बीच भेट भयो, छलफल भयो, सहमति हुन सकेन, सहमति भयो, सहमति तोडेको आरोप प्रत्यारोप भयो, फेरि छलफल भयो,सहमती नजिक पुग्यो,भेट हुन सकेन,भेट भयो,फेरि सहमति भयो, यो यता लाग्यो, उ उता लाग्यो, यसले यस्तो आश्वासन पायो,उसले यस्तो पद खायो, फेरि सहमति भाँडियो, यसपाली पार्टी फुट्ने पक्का भयो, जे भएपनि पार्टी नफुट्ने पक्का भयो, एउटा अध्यक्षको प्रतिवेदन सचिवालयमा पेश भएर त्यसमा छलफल भयो, अर्को अध्यक्षले पनि जवाफसहित प्रतिवेदन पेश गर्ने निर्णय भयो, एकैछिन बसेर बैठक सकियो, बैठकमै भनाभन भयो, प्रतिबेदनमा एक अर्का बिरुद्ध आरोप प्रत्यारोप मात्रै देखियो, एउटा अध्यक्ष नआएकाले बैठक त्यसै सकियो आदि जस्ता समाचारहरुले सबै समाचारहरुलाई पछाडि पारेर हेडलाइनमा मौका पाएको धेरै भइसक्यो। यी र यस्ता बाहेक अरु समाचारहरु केही नभए जस्तो छ।

दुबै अध्यक्षहरुले पेश गर्ने प्रतिवेदनमा देश र जनताका जल्दाबल्दा समस्याहरुको समाधानका कुरा, प्रगति उन्नति गर्ने उपायहरुका कुरा, सुशासनका कुरा, भ्रष्टाचार निवारणका कुरा, विकास निर्माणका कुरा, जनताको सुख समृद्धिका कुरा, देशको अन्तरर्राष्ट्र्यि छबि बढाउने कुरा, आर्थिक समृद्धिका कुरा, कोरोनाबाट बच्ने बचाउने उपायहरुका कुरा, योग्यता क्षमताको आधारमा नियूक्तिका कुरा, गरिबी निवारणका कुरा, कृषि उत्पादन र आधुनिकिकरणका कुरा,देशलाइ आत्मनिर्भर बनाउने कुरा, पर्यटन प्रबर्धनका कुरा,सास्कृतिक प्रबर्धनका कुरा, औद्योगिकरणका कुरा,समान न्याय समान हक समान अवसरका कुरा, संविधान लागू गर्ने कुरा आदि आदि को बारेमा चुनावी घोषणा पत्रमा भएजस्तै कुनैकुनै विचारहरु आउलान् र उनिहरुको भित्री इच्छा र आशयहरु जनताले थाहा पाउलान् भन्ने कोहि कोहीले अलिअलि कल्पना गरेका रहेछन्।

कुनैपनि देशका बहालवाला सरकार प्रधान र समान हैसियत भएका अर्का नेताले एकअर्कालाई यसरी लिखित रुपमै आरोप प्रत्यारोप गरेको यो घटना संसारमै पहिलो होला। खोजी गर्ने हो भने हामीले यसमा पनि नयाँ कीर्तिमान कायम गरेको र हामी सँसारकै पहिलो राष्ट्रमा परेको हुनसक्छ। यस्तायस्ता कीर्तिमान कायम गर्न सक्ने र आफ्नो  स्वार्थको लागि सबैथोक बिर्सेर बक्ने नेताहरु पाउनु जनताको लागि ठूलो अहोभाग्य हो।

त्यसको बिपरित प्रतिवेदनमा खाली आफ्ना ब्यक्तिगत आशक्ति, कुण्ठा, मनमा रहेका तुष, असिमित इच्छाचाहना, लोभलालच, व्यक्तिगत रिसइवी,डाह इष्र्या,स्वार्थ,लाज शरम घिन सँकोच र आफ्नो उमेर हैसियत मर्यादा मान सम्मान सबै बिर्सेर त्यसलाइ केही नमानिकन ज्यादै तल्लो स्तरमा ओर्लिएर एकअर्कालाई गाली गलोज र आरोप प्रत्यारोप बाहेक केही पनि देखिएन।

शायद कुनैपनि देशका बहालवाला सरकार प्रधान र समान हैसियत भएका अर्का नेताले एकअर्कालाई यसरी लिखित रुपमै आरोप प्रत्यारोप गरेको यो घटना संसारमै पहिलो होला। खोजी गर्ने हो भने हामीले यसमा पनि नयाँ कीर्तिमान कायम गरेको र हामी सँसारकै पहिलो राष्ट्रमा परेको हुनसक्छ। यस्तायस्ता कीर्तिमान कायम गर्न सक्ने र आफ्नो  स्वार्थको लागि सबैथोक बिर्सेर बक्ने नेताहरु पाउनु जनताको लागि ठूलो अहोभाग्य हो।

यति धेरै कुण्ठा इर्ष्या  रिसराग द्वेष डाह असन्तुष्टि चाहना आशक्ति मनमा पालेर र एकता गरेको क्षणबाट एकअर्कालाई सिध्याउन थालेर एकअर्काको बिरुद्धमा अनेक कदम चालेर पनि एकै ठाउँमा बस्न सक्नुलाइ चाहिँ मान्नै पर्छ र स्वार्थले मान्छेलाई कस्तोकस्तो अवस्थामा पनि कसरी जोड्दो रहेछ भनेर जान्नै पर्छ।

अहिलेको एकता छोडेर, भएका भित्री बाहिरी सम्झौताहरुलाइ तोडेर, फेरि अर्को गुटलाई जोडेर, जेजस्तो भएपनि एकतालाई फोडेर र आवेशमा विचार मोडेर अन्यत्र जाउँ भनेपनि जाने ठाउँ छैन। यसै भएन उसै भएन एकताबाट भागौँ, नयाँ बाटो लागौँ र पहिलेकै जसरी जागौँ भनेपनि कसैले पत्याउने अबस्था छैन।

एकै ठाउँमा बसौँ, पछि बक्सिसमा केही मिल्छ कि भनेर घुँडा धसौँ वा जे पर्ला भनेर चुनौती दिन कम्मर कसौँ भनेपनि औकात पुग्दैन। दयामायाले दिएको हात थापेर खाने कि नचाहिँदो पूर्ति गर्दा लात खाएर बाहिर जाने भन्ने मात्रै बिकल्प बचेजस्तो देखेर जनताले त्यही हेराइ हेर्न थालिसके। ठूलो भाग खान जाँदा केके दाग लाग्ने हो केही पत्तो नपाइकन अत्तो मात्रै थापेर के नै होला र?

बनाउँदैमा चर्केको हाँडीमा न मकै भुट्न मिल्छ न फुट्यो भनेर फाल्न र काम चलाउनको लागि टाल्न मिल्छ। यो एकता त्यस्तै हो। सुरुमै चर्केको हुनाले एकअर्का बिरुद्ध फर्केको र स्वार्थकै कारणले एकअर्काबाट थर्केको अवस्थाले यो प्रतिवेदन रुपी दोहोरीको फोहोरी प्रस्तुतीबाट सबैले मनोन्जन गर्न पाएका हुन्। चर्केको हाँडी फुट्न पनि सक्दैन र जुट्न पनि सक्दैन भनेर बुढापाकाले त्यसै भनेका होइन रहेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *