लघुकथा : प्रशंसा

डिसी नेपाल
२० मंसिर २०७७ ७:३६

कक्षा तीनमा पढ्ने बिजय सधैं केही न केही उपद्रो गरिरहन्थ्यो। साथीहरुको किताब कापी च्यात्ने, अरुसँग झगडा गर्ने, घरको सामान स्कुलमा ल्याउने, शिक्षकले पढाएका बेला हल्ला गर्ने, होम वर्क नगरी आउने, शिक्षकसँग अनावश्यक प्रश्न गर्ने जस्ता ब्यबहार दैनिक जसो देखाउने गर्थ्यो।

ऊ पढाइमा पनि अरु बिधार्थी भन्दा धेरै कमजोर थियो। शिक्षकले सोधेको प्रश्नको जवाफ बिरलै दिने गर्थो। तर उट् पट्याङ कुरामा भने अरुभन्दा सधैं अगाडि हुन्थ्यो। उसको यस्तो ब्यबहारबाट शिक्षकहरु पनि हैरान थिए। उसलाई सम्झाइ , बुझाइ गर्दा, दण्ड, सजाय दिँदा समेत केही गरी सुधार आउन सकिरहेको थिएन।

एक दिन उसको स्कुलमा नयाँ सर आएका थिए। सरले शुरुमा केही समय रमाइला कुराकानी गरेर बिताए। बिधार्थीहरु ती शिक्षकसँग खुलेर कुरा गर्न थाले। त्यो दिन उनले किताबको कुनै पाठ पढाएनन् बरु सबै बिधार्थीलाई आफूलाई मन लागेको एउटा-एउटा प्रश्न सोध्न भने।

बिजय बोल्ने मामलामा पनि अगाडि थियो। सबै भन्दा पहिला उसले नै प्रश्न गर्यो- ” सर ल भन्नुहोस त तपाईं आउनु भन्दा अघि यो कोठाको चक- डस्टर कसले लुकाएको हो?” उनी अलमल परे। ” यो कुरा त मलाई थाहा भएन। बरु बाबुलाई नै पो थाहा होला कि?” ती शिक्षकको बोली व्यवहार अरु शिक्षकको भन्दा फरक थियो। उनी बाल मनोविज्ञानका ज्ञाता थिए।

बिजयको प्रश्नमा बालबालिकाहरुमा देखिने “कन्डक्ट डिसअडर्स वा बदमासी” नामको एक प्रकारको बाल मनोबैज्ञानिक समस्या झल्कन्थ्यो। बिजयले आफ्नो प्रश्नको जबाफ आफै दिन सक्ने भन्दै उनले उसलाई नै बोल्न प्रेरित गरे।

बिजयले कहिल्यै शिक्षकले सोधेको कुराको जबाफ दिन सक्दैन थियो। उ सधैं शिक्षकको गाली मात्र खाने गर्थो। यसपटक भने सही जबाफ दिने कुरामा ढुक्क हुँदै बिजयले भन्यो-” मलाई थाहा छ नि सर, किन थाहा नहुनु , मैले नै त हो लुकाएको! उसको कुरा सुनेर उसका साथीहरु गलल हाँसे।

शिक्षकले भने शान्त हुँदै सबैलाई सम्झाउन थाल्नु भो- “बिजय ज्ञानी र इमानदार रहेछ। आफूले गरेको गल्ती नढाटीकन भन्यो। हामीबाट कहिले काहिँ गल्ती हुन्छ। तर आफ्नो गल्ती लुकाउनु हुँदैन। स्याबाँस बिजय। सधैं यस्तै ज्ञानी हुनु।”

बिजयलाई सबैले बदमास मात्र भन्थे। नयाँ सरले गरेको प्रशंसा नै बिजयको लागि पहिलो थियो। बिजयको बाल मनोविज्ञानमा गहिरो छाप पर्यो। सरको कुराले त्यो दिन बिजय बेसरी रोयो। यो दिन देखि उसले जानी जानी कहिल्यै बदमासी गरेको सुनिएन। बिजयले त्यो दिन बर्षै देखि आफुले सुन्न चाहेको तर कसैले पनि बुझ्न नसकेको कुरा पाएको थियो। त्यो हो-प्रशंसा ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *