ओली र प्रचण्डबीच छलफल, सम्बन्ध सुधारकाे प्रयास

डिसी नेपाल
२४ मंसिर २०७७ १४:१४

काठमाडौं। पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भेटवार्ता भयो।

दुई अध्यक्षबीच भएको छलफलले कुनै निष्कर्ष ननिकाले पनि दुई अध्यक्षबीच संवाद सुरु भएको रुपमा हेरिएको छ। यसअघि गत मंगलबार सचिवालय बैठक बस्नु अघि ओली र प्रचण्डबीच केही समय छलफल भएको थियो।

‘दुई अध्यक्षबीचको छलफलले कुनै निष्कर्ष त निकालेन तर सौहार्दपूर्ण रुपमा छलफल भयो,’ प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले डिसी नेपालसँग भने।

कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रचण्डले प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै १९ पृष्ठ लामो प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसको जवाफमा ओलीले मंसिर १३ गते बसेको सचिवालय बैठकमा ३८ पृष्ठ लामो प्रतिवेदन प्रस्तुत गरेपछि दुई अध्यक्षबीचको सम्बन्धमा चिसोपना आएको छ।

लामो समय संवादहीनताको अवस्थालाई तोड्दै बुधबार प्रचण्ड ओलीलाई भेट्न बालुावटार पुगेका थिए। ‘यो संवादले दुई अध्यक्षबीचको सम्बन्ध सुधार हुनुका साथै पार्टी विवाद समाधानका लागि पनि सकारात्मक सन्देश दिएको छ,’ ओली निकट एक नेताले भने, ‘अब निरन्तर संवाद भइराखे निकास खोज्न सजिलो हुन्छ।’

दुवै अध्यक्षका प्रतिवेदन स्थायी कमिटीमा पेश भएको छ। अहिले उक्त प्रतिवेदन सदस्यहरुलाई अध्ययन गर्न भन्दै वितरण गरिएको छ। स्थायी कमिटीको अर्को बैठक मंसिर २८ गते बस्दैछ। त्यसअघि नै निकास खोज्ने गरी दोस्रो तहका नेता सक्रिय भइरहेका बेला ओली र प्रचण्डबीच झण्डै एक घण्टा छलफल भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *