कोरोनाभाइरस भ्याक्सिन लगाउँदा एलर्जीको समस्या !

डिसी नेपाल
२५ मंसिर २०७७ १०:५७

काठमाडौं। बेलायतमा फाइजरको कोरोनाभाइरस भ्याक्सिन लगाउँदा २ जना बिरामी परेका छन् । यससँगै बेलायतको औषधि नियामक निकायले यो विषयलाई गम्भीरताका साथ लिएको छ । तत्कालको लागि नियामक निकायले पहिलेदेखि नै एलर्जीको समस्या भएकाहरुलाई भ्याक्सिन नलगाउन भनेको छ । बेलायतको स्वास्थ्य विभागले चेतावनी जारी गर्दै कुनै पनि औषधि, खाना वा भ्याक्सिनबाट एलर्जीको समस्या भएकाहरुलाई यो भ्याक्सिन नलगाउन भनेको सीएनएनले जनाएको छ ।

मंगलबारदेखि बेलायतमा ठूलो परिमाणमा भ्याक्सिन दिने कार्यक्रम सुरु भएको थियो । अहिलेसम्म २ जनालाई मात्र एलर्जीको समस्या देखिएको छ । बेलायतको स्वास्थ्य विभागले ठूलो परिमाणमा जाँच गरेपछि मात्र भ्याक्सिनलाई स्वीकृति दिइएको र अहिलेसम्म २ जनाबाहेक अरुलाई स्वास्थ्य समस्या नदेखिएको बताएको छ । समस्या देखिएका दुई जना स्वास्थ्यकर्मी हुन् । फाइजर–बायोएनटेकले पनि एक बयान जारी गर्दै भ्याक्सिनको ट्रायलको क्रममा औषधिबाट एलर्जीको समस्या भएका कसैलाई पनि सहभागी नगराइएको प्रस्ट पारेका छन् ।

विशेषज्ञका अनुसार यो भ्याक्सिनबाट जोकोहीलाई एजर्जी हुन्छ भन्ने दावी सत्य होइन । विशेषज्ञहरुले भविष्यमा भ्याक्सिनेसनको काम अगाडि बढ्दै जाँदा एलर्जीका अरु केसहरु पनि आउन सक्ने र यसलाई अप्रत्याशित मान्न नहुने प्रस्ट पारेका छन् । वैज्ञानिकका अनुसार गेलाटिन, अण्डाको प्रोटिन वा यो भ्याक्सिनप्रति मानिसहरु संवेदनशीन हुन सक्छन् । अण्डाबाट एलर्जीको समस्या भएकाहरुलाई यो भ्याक्सिन नलगाउन सल्लाह दिइएको छ किनकि यो भ्याक्सिनमा कुखुराको अण्डाको पनि प्रयोग गरिएको छ ।

यो भ्याक्सिन लगाएपछि छाला रातो हुनु, छालामा जलन हुनु, खोकी लाग्नु वा सास फेर्न कठिनाइ हुनेजस्ता सामान्य लक्षण देखिन सक्छन् । यो भ्याक्सिनका केही साइड इफेक्ट पनि देखिएका थिए । यसका विशिष्ट साइड इफेक्टहरुमा भ्याक्सिन लगाइएको पाखुरा दुख्नु, ज्वरो आउनु वा मांशपेशी दुख्ने जस्ता लक्षण देखिन सक्ने बताइएको छ । भ्याक्स्नि लगाउनेहरुलाई थकान, चिसो लाग्ने, टाउको दुख्ने जस्ता लक्षण पनि देखिन सक्छन् । यो भ्याक्सिन लगाएपछि देखिने एलर्जिक लक्षण भने निकै कम र अल्पकालीन हुन् । अन्य गम्भीर लक्षण के हुन सक्छन् भन्ने विषयमा नियामक निकायले गम्भीरताका साथ जाँच गरिरहेका छन् । तर, यी लक्षणहरुको पहिचान निर्धारित गर्न लामो समय लाग्न सक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *