बासमती प्रकरणः नेपालले पठायो दावी विरोध
काठमाडौं। बासमती चामलमा भारतले एकाधिकार कायम गर्ने गरी यूरोपेली यूनियनमा ब्राण्डका लागि गरेको दावीमा नेपालले विरोध पत्र पठाएको छ।
नेपालले बासमती चामल नेपालमा पनि उत्पादन हुने भन्दै यो ब्राण्डमा अन्य कुनै मुलुकले एकाधिकार लिन नपाउने दावीसहित दावी विरोध गरेर पत्र पठाएको कृषि तथा पुश पन्छी विकास मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिए।
नेपालले बुधबार नै दावी विरोधसहितको पत्र पठाएको उनले बताए। तीन महिना अगाडि नै भारतले यूरोपेली यूनियनम बासमती आफ्नो मुलुकमा मात्र उत्पादन हुने भएकाले त्यसलाई भारतीय ब्राण्डमा मात्र सीमित गर्ने गरी निवेदन दिएको थियो।
भारतको सो निवेदनपछि यूरोपेली यूनियनले दावी विरोधका लागि समय दिएको थियो। त्यो समयसीमा शुक्रबार सकिँदै छ। समयसीमा सकिनु अघि नै नेपालले दावी विरोध पठाएको हो।
प्रवक्ता केसीले बासमती नेपालको स्थानीय जात भएको प्रमाणसहित दावी गरिएको जानकारी दिए। उनले डिसी नेपालसँग भने, ‘बासमती नेपालको स्थानीय उत्पादन भएको प्रमाण पुग्ने गरी पठाइएको छ।’
भारतले यसअघि पस्मिना पनि यस्तै दावी गरेको र पस्मिानामा आफ्नो मुलुकमा एकाधिकार कायम गरिसकेको छ। त्यतिबेला पाकिस्तानले दावी विरोध गरेपछि अन्तर्राष्ट्रिय बजारमा पस्मिानामा एकाधिकार गर्ने भारतको नियतमाथि ब्रेक लागेको थियो।
तर पनि उसले आफ्नो मुलुकमा भने कश्मीरी पस्मिनालाई ब्राण्ड कायम गरेको छ। नेपालबाट पस्मिनाका नाममा भारतमा कुनै पनि वस्तु निर्यात गर्न सकिँदैन।
भारतले यो बासमतीमा अन्तर्राष्ट्रिय ब्राण्ड कायम गरेमा बासमतीका नाममा कुनै पनि वस्तु उत्पादन र बिक्री वितरण गर्न नसकिने हुनेछ। त्यसैले नेपालले दावी विरोध गरेको हो।
Facebook Comment