नेकपा विवादः अब प्रचण्ड एक्लै बालुवाटार नजाने मुडमा

डिसी नेपाल
२५ मंसिर २०७७ १९:०५

काठमाडौं। सत्तारुढ दल नेकपामा चर्किएको आन्तरिक विवाद कम हुनेभन्दा पनि बढ्दै गएको देखिएको छ। २१ मंसिरको स्थायी कमिटी बैठकमा विवाद समाधानका लागि अनौपचारिक वार्ता पनि जारी राख्ने भन्दै ७ दिनको समयपछि स्थायी कमिटीको बैठक तोकियो।

सो बैठकको आसयअनुसार नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवासमा बुधबार एक घण्टा लामो छलफल भयो। तर, कुनै सहमतिको बाटो पहिल्याउन सो छलफल सफल भएन। बरु सो छलफलपछि प्रचण्ड अब ओलीसँग एक्लै वार्ता गर्नुको अर्थ नरहेको निश्कर्षमा पुगेका छन्। अब वार्ता गर्न बालुवाटार जानुपरे अन्य नेताहरुलाई पनि साथमा लिएर जाने प्रचण्डको तयारी रहेको बताइएको छ।

प्रचण्डको सचिवालयका एक सदस्य भन्छन्, ‘बालुवाटार गएर छलफल गर्नुको कुनै अर्थ देखिएन। छलफल गर्ने तर कुनै निश्कर्ष ननिस्कने छलफलमा सहभागी हुनुको महत्व नभएको अध्यक्षको बुझाई छ।’ हुन पनि अहिलेको विवाद शुरु हुनुअघि गएको असोजमा दुई अध्यक्षबीच लगातार बालुवाटारमा छलफल भइरहेकै थियो। तर, सो छलफलले दुई अध्यक्षबीच विश्वास बनाउनुभन्दा तिक्तता बढायो र दुबै अध्यक्षले एकअर्कामाथि आरोप लगाउँदै पत्र लेख्नेदेखि लिएर सचिवालयमा राजनीतिक प्रस्ताव पेश गर्ने अवस्था आयो।

त्यसैले अब प्रचण्ड ओलीसँग वार्ताका लागि एक्लै बालुवाटार नजाने निश्कर्षमा पुगेको उनी निकट स्रोतले बताएको छ। बुधबारको बैठकमा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँगको समीकरण भत्काएर दुई अध्यक्ष मिल्न प्रचण्डलाई प्रस्ताव गरेको भन्ने चर्चा छ। र ओलीको सो प्रस्तावमा प्रचण्ड सहमत नभएको बताइन्छ।

दुबै अध्यक्षबीच आ आफ्ना अडान कायम रहेका बेला यहि मंसिर २८ मा स्थायी कमिटी बैठक बस्दै छ। २१ मंसिरको बैठकमा ओली अनुपस्थित थिए। २८ गते के गर्छन् भन्ने यकिन छैन। तर, ओली निकटहरुले २८ मंसिरको बैठमा उनी उपस्थित हुने सन्देश दिइरहेका छन्। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार तथा स्थायी कमिटी सदस्य विष्णु रिमालले २८ गतेको बैठकको एजेण्डा पार्टीको आन्तरिक संकट राखिएकाले अध्यक्ष ओली सहभागी हुने बताएका छन्।

२८ गतेसम्म अनौपचारिक वार्तामार्फत सहमतिको कुनै बिन्दु खोजी गरिने नेताहरुले मंसिर २१ को बैठकपछि बताएका थिए। तर, बुधबार दुई अध्यक्षबीच भएको छलफलले कुनै निश्कर्ष ननिकालेपछि २८ गते अगाडि सहमति हुने सम्भावना कम हुँदै गएको छ।

स्थायी कमिटी सदस्य गणेश शाह भन्छन्, ‘कुराकानी त योबीचमा होला तर अहिलेसम्म त्यस्तो सहमति बन्ने कुनै संकेत देखिएको छैन।’ उनका अनुसार २८ गते बस्ने स्थायी कमिटी बैठकमा सबै सदस्यहरुले बोल्ने मनासाय बनाएका छन्। शाह भन्छन्, ‘सबैले कम्तिमा २० मिनेट बोल्ने समय पाउने सम्भावना छ। त्यस्तो समय नपाए स्थायी कमिटीको बैठकको वातावरण सहज बन्ने देखिँदैन। त्यसैले बैठक अलि लामो जान सक्छ।’

बैठकमा बोल्ने सदस्यहरुले कुन लाइनमा बोल्छन् त्यसैअनुसार दुबै पक्षले आ आफ्नो रणनीति बनाउने सम्भावना रहेको उनी अनुमान गर्छन्। शाह भन्छन्, ‘पार्टी विभाजन हुने सम्भावना त म देख्दिन। तर क्र्याक छ। त्यो क्र्याकमा कसरी मलमपट्टी हुन्छ। त्यसैअनुसार अगाढि बढ्छ होला। तीनवटा कमिटी बन्ने अनुमान छ। महाधिवेशन आयोजक कमिटी, पार्टी एकीकरण सम्बन्धी कमिटी र सरकार सञ्चालनबारे कमिटी बन्न सक्छ। त्यसैअनुसार विवाद सकिन सक्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *