ओली र प्रचण्ड आ-आफ्नै रणनीति निर्माणमा, सहमतिको प्रयास जारी

डिसी नेपाल
२६ मंसिर २०७७ ७:२६

काठमाडौं। सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक मंसिर २८ गते आइतबार बस्दैछ। बैठकमा दुवै अध्यक्षका प्रतिवेदनमाथि छलफल हुनेछ। तर त्यसअघि नै दुवै अध्यक्षबीच सहमतिको प्रयास भने भइरहेको छ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव फिर्ता नभएसम्म आफू बैठकमा सहभागी नहुने अडान राखेका छन

बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डका छुट्टाछुट्टै प्रतिवेदनहरू अध्ययनका लागि स्थायी कमिटी सदस्यहरूलाई बाँडिएको थियो। ती प्रतिवेदनहरू अध्ययन गर्नुपर्ने भएका कारण नेकपाको स्थायी कमिटी बैठक मंसिर २८ गतेसम्मका लागि स्थगित गरिएको छ।

ओलीसँग सहमति हुने सम्भावनाका साथ बैठक स्थगित गरिएको थियो। सात दिनका लागि स्थायी कमिटी बैठक रोकिएको अवस्थामा नेताहरूबीच विभिन्न कोणबाट छलफल भइरहेको छ। पार्टीमा विवाद चुलिएका बेला ओली र दाहाल पक्ष आफ्नो आफ्नो रणनीति निर्माणमा छन्।

दुवै अध्यक्षबीचको सम्बन्ध उत्कर्षमा पुगेका बेला दोस्रो तहका नेता ओली र प्रचण्डबीच संवाद गराउन सफल भएका छन्। तर ती संवाद निष्कर्षन्मुख भने छैनन्। बुधबार ओली र प्रचण्डबीच बालुवाटारमा झण्डै डेढ घण्टा छलफल भयो। उक्त छलफलमा ओलीले प्रचण्डलाई मिलेर जाने प्रस्ताव गरेपनि प्रचण्डले सबैलाई मिलाएर लैजानुपर्ने बताएका थिए।

आगामी पुस ५ गते पार्टीको केन्द्रीय कमिटी बैठक बोलाइएको छ। नेकपामा पत्र युद्ध चलिरहेको बेलामा कात्तिक २८ गते सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले प्रस्ताव राखेपछि विवाद उत्कर्षतर्फ गएको हो। अध्यक्ष  प्रचण्डको प्रस्तावको प्रतित्युत्तर पत्र प्रधानमन्त्री ओलीले मंसिर १३ को सचिवालय बैठकमा पेश गरेका थिए।

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड बीचको विवाद उत्कर्षमा पुगेपछि उनीहरूबीच संवाद टुटेको थियो। पार्टी विभाजन हुन नदिन भन्दै दोस्रो तहका नेताहरु सक्रिय छन्। उनीहरुले विवाद समाधानका लागि भदौ २६ गते स्थायी कमिटीले गरेको निर्णयलाई आधार मानेर नयाँ निर्णय गर्नुपर्ने सुझाव शीर्ष नेताहरुलाई दिएका छन्।

स्थायी कमिटी सदस्य मणि थापाले विवाद समाधानका लागि भदौ २६ गते स्थायी कमिटीले गरेको निर्णयलाई आधार मानेर नयाँ निर्णय गर्नुपर्ने बताए। ‘अहिले पार्टीभित्र देखिएको समस्या समाधानका लागि भदौ २६ गते स्थायी कमिटीले गरेको निर्णयलाई आधार मानेर नयाँ निर्णय गर्नुपर्छ,’ थापाले भने, ‘उच्चस्तरीय कार्यदल गठन गरेर कार्यदलले दिने सुझावका आधारमा नयाँ निर्णय लिएर पार्टी भित्र देखिएको विवाद समाधान गर्नुपर्छ।’

पार्टीमा पछिल्लो समय चुलिएको विवाद समाधान गरेर सबैलाई एकता महाधिवेशनमा केन्द्रित हुनका लागि दोस्रो र तेस्रो तहका नेताहरूले सक्रियता देखाइरहेका छन्। पार्टीको आगामी चैत २५-३० मा एकता महाधिवेशन तोकिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *