बैठकमा ओली उपस्थित नभएपनि पार्टी निर्णय गरेर अगाडी बढ्छ : सांसद बिडारी

डिसी नेपाल
२६ मंसिर २०७७ २१:३८

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवंम सांसद राम नारायण बिडारीले आगामी पार्टीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएपनि पार्टीले निर्णय गरेर अगाडी बढ्ने बताएका छन् ।

शुक्रबार राजधानीमा संवाद क्लव नेपाल द्वारा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवंम सांसद बिडारीले सो कुरा बताएका हुन् ।

संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापति समेत रहेका बिडारीले दलीय व्यवस्थामा राजनैतिक दलले सरकार बनाएर दलले नै सरकारलाई आफ्नो घोषणा पत्र अनुसार काम गर्न निर्देशन गर्ने परिपाटीलाई लत्याउदै प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको निर्णय मान्दिन भन्न नहुने विचार व्यक्त गरे। उनले भने, “पार्टीले भनेको मान्दिन,बैठकमा आउदिन भन्नु निर्दलवादी हुनु हो।”

प्रधानमन्त्रीले पार्टीले भनेको मान्दिन,बैठकमा आउदिन भनेर एकछिन घुर्की लगाएपनि अन्तिममा उनि बैठकमा आउने र पार्टीले भनेको मान्ने गरेको बताए। सडकमा देखिएको राजावादीहरुको आन्दोलनप्रति टिप्पणी गर्दै सांसद बिडारीले २०४८ सालपछि जन्मिएको पुस्ताले राजतन्त्रको खास जनविरोधी गतिविधी थाहा नपाएकोले कतै राजतन्त्र पो राम्रो होला कि भनेर सडकमा आएको हुन सक्ने तर राजतन्त्रमा जानु भएको पश्चगमन हुने भएकोले नेपालमा अब त्यो सम्भव नरहेको धारणा व्यक्त गरे ।

गणतन्त्रका केहि गलत मान्छेहरुलाई हेरेर पछि फर्किन नसकिने भन्दै उनले प्रश्न गरे । गणतन्त्र ठिक लागेन भनेर राजतन्त्रमा जाने अनि राजतन्त्र ठिक भएन भनेर राणातन्त्रमा जाने ? यसरि समाज पछाडी फर्किन नसक्ने बताउँदै उनले भने, “गणतन्त्रमा जसरी सबै मानिसहरु बोल्न पाएका छन् राजतन्त्रमा यसरि बोल्न समेत पाइदैनथ्यो।”

अन्तरसंवाद कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता बोर्ण बहादुर कार्कीले सरकारमा रहेको पार्टी भित्रको बहस राष्ट्र र जनतालाई कसरी संमृद्ध बनाउने भन्नेमा नभएर राष्ट्रमा कसरी लुट मच्चाउने र कसरि देशलाई लुट्ने भन्नेमा केन्द्रित भएको विचार ब्यक्त गरे ।

अहिलेको सरकार सत्ता संचालनमा असफल भएको मात्रै होइन कि जनताले दिएको जिम्मा समेत पुरा गर्न नसकेको जिकीर गरे । देशमा राजतन्त्र आए झन् संकट थपिने भन्दै उनले भने “धमिलो पानीमा माछा मार्ने कुचेष्टा राजावादीहरुले नगरे हुन्छ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *