पशुपति क्षेत्रको वाग्मतीमा बढ्न थाल्यो फोहर

डिसी नेपाल
२७ मंसिर २०७७ १६:१३

काठमाडौँ । वाग्मती सफाइ महाअभियानको ३९६औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ ।

पशुपति क्षेत्रको सफाइ अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा भएको थियो । सफाइमा गङ्गा पुरीलगायत अभियानकर्मीको सक्रियता थियो । पशुपतिबाट तिलगङ्गासम्म सीमित अभियानकर्मीले मात्र सफाइ गर्दा जम्मा भए जति सबै फोहर उठाउन नसकिएको उनले सुनाइन्।

पशुपतिको आर्यघाट र भष्मेश्वरघाटमा पछिल्लो समय शव आउने क्रम बढेसँगै यस क्षेत्रको नदी किनारमा पनि फोहर बढ्दै गएको छ । शवमा प्रयोग हुने कपडा, फूलमाला, क्रियापुत्रीले पहिले लगाएका कपडा, बाँसलगायत फोहर नदीमै फालिने गरेको छ । वर्षामा बहाव धेरै हुँदा यी बगाएर लगे पनि हिउँदमा पानी घटेसँगै नदीमा फोहर बढ्ने गरेको छ ।

यसैगरी शङ्खमूल पुल क्षेत्रमा गरिएको सफाइमा विशेषगरी माइक्रो पार्कका चालक सहचालकलाई चेतना जगाइएको अभियानकर्मी डा लक्ष्मी पौडेलले जानकारी दिइन् । माइक्रो पार्कमा फोहर राख्ने डष्टबिनसमेत सो अवसरमा वितरण गरिएको थियो ।

विष्णुमती सफाइको ३२५औँ हप्तामा काठमाडौँ महानगरपालिका–१७ खुसिंबु क्षेत्रमा सफाइ गरिएको छ । विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजलगायत स्थानीय संस्थाको सक्रियतामा भएको सफाइमा नदीमा फोहर नफालौँ जल सभ्यताको संरक्षण गरौँ भन्दै अभियानकर्मी सक्रिय रहेको संयोजक शोभाकान्त पाण्डेले जानकारी दिए । सफाइमा भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर ६० जनाले सफाइ गरेको जनाइएको छ ।

यसैगरी गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, मनोहरा, चक्रपथको उत्तरी र पश्चिमी भेगलगायत स्थानमा पनि सफाइ गरिएको छ । कोरोना कहर चलिरहेकाले सबै स्थानको सफाइमा नदी किनार नजीकै निवास भएका अभियानकर्मीमात्र सहभागी हुँदै आएका छन् ।

नदी किनारभन्दा टाढा निवास रहेका अभियानकर्मी भने टोल सफाइ एवं चेतना अभिवृद्धिमा सक्रिय भएको जनाइएको छ । विसं २०७० जेठ ५ गतेदेखि दुई घण्टा देशका लागि स्वयंसेवा भन्ने नाराका साथ वाग्मती सफाइ महाअभियान शुरु भएको हो । वाग्मती सफाइ महाअभियान शुरु भएसँगै यसका सहायक नदी, उपत्यकाका विभिन्न स्थानसहित देशभरका मुख्य मुख्य स्थानमा सफाइ भइरहेको छ ।

हाल देशभर १०६ भन्दा बढी स्थानमा सफाइ भइरहेको जनाइएको छ । वाग्मती सफाइ महाअभियान आगामी पुस २५ गते ४००औँ हप्तामा प्रवेश गर्दैछ । त्यस अवसरमा विशेष कार्यक्रमको तयारी गरिएको सफाइ महाअभियानले जनाएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *