काभ्रेमा ३८ तोला सुन चोरेर काठमाडौंको डिस्कोमा पुगेपछि…..
काठमाडौं । काभ्रेपलाञ्चोकमा ३८ तोला सुनको गहना चोरेर फरार रहेका ५ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।
शनिबार साँझ काभ्रेकी माइली तामाङको घरबाट गहना चोरेर फरार भएका काभ्रेका ५ युवालाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले आइतबार दिउँसो पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ का २४ वर्षका रामचन्द्र चालिसे, ओखलढुंगाको सिद्धिचरण नगरपालिका ५ का २७ वर्षका देवराज दाहाल, काभ्रेको धुलिखेल नगरपालिका ७ का १८ वर्षका हुइबहादुर तामाङ, धुलिखेल १ का २३ वर्षका राम तामाङ र १८ वर्षका राजन तामाङ रहेका छन् ।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका २ की माइली तामाङको घरबाट गहना र पैसा हराएपछि प्रहरीले खोजी गर्दा उक्त टोलीलाई काठमाडौंको ड्रागन डिस्कोमा फेला पारेको थियो । उनीहरुमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय काभ्रे पठाइएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी) प्रमेश विष्टले डिसी नेपाललाई जानकारी दिए।
प्रवक्ता विष्टका अनुसार काठमाडौंको ड्रागन डिस्कोमा सुनको भागबण्डा लगाउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीले उक्त घटनाको मुख्य योजनाकार राजन तामाङ रहेको जनाएको छ ।
Facebook Comment