क्यान्सरपीडित नेपालीलाई आमा समूहको सहयोग
गण्डकी । घाँटीको क्यान्सरबाट पीडित शङ्कर नेपालीलाई शुभकामना आमा समूहले आर्थिक सहयोग गरेको छ। पोखरा महानगरपालिका–१७ रातोपैह्राका ६५ वर्षीय नेपालीको उपचारार्थ स्थानीय आमा समूहले रु ११ हजार ६४५ आर्थिक सहयोग गरेको हो।
नेपालीको निवासमा सोमबार आयोजित एक कार्यक्रमका बीच शुभकामना आमा समूहका अध्यक्ष हिरादेवी अधिकारीले क्यान्सरपीडित नेपालीकी श्रीमती रत्नकुमारी नेपालीलाई उक्त रकम हस्तान्तरण गरिन्। सबैको सहयोगले क्यान्सरजस्तो रोगसँग लडिरहेका नेपालीको उपचारमा सहयोग पुग्ने उद्देश्यका साथ समूहले सानो भए पनि सहयोग गरेको उपस्थित आमा समूहको सामूहिक धारणा रहेको छ।
ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका नेपालीको हाल पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। बन्दाबन्दीसँगै उहाँले बाँसका विभिन्न सामग्री बनाएर बिक्री गर्दै आएका थिए। कमाउने श्रीमानलाई जटिल रोग लागेपछि अहिलेसम्म उपचार गर्दा रु तीन लाखभन्दा बढी खर्च भइसकेको उनकी श्रीमती रत्नकुमारी नेपालीले गहँभरि आँशु पारेर दुखेसो पाेखिन्।
यसअघिको उपचारमा स्वास्थ्य बीमा र गाउँपालिकाको सिफारिसमा अस्पतालले केही रकम छुट भएर सुविधा पुगे पनि आगामी दिनमा उपचारका लागि कुनै पनि विकल्प नभएको भन्दै उनले विभिन्न संघसंस्था एवं व्यक्तिसँग सहयोगका लागि आग्रह गरिन्।
कोरोना भाइरसका कारण मुलुकमा बन्दाबन्दी भएसँगै श्रीमान्ले बाँसका चोयाका सामग्री बनाएर बिक्री गर्नु र आफू तरकारी खरिद बिक्री गर्दै आउनुका साथै छोराछोरीले पनि मजदूरी गरेर उनको सिङ्गो परिवार चल्दै आएको थियो। रासस
Facebook Comment