चौध जर्नेल र ३२ कर्णेलको सरुवा, आपसी कुटाकुटमा मरेकालाई १० लाख

डिसी नेपाल
१ पुष २०७७ ११:३९

काठमाडौं। नेपाली सेनाका सहायक रथी र महासेनानीहरुको एकैपटक ठूलो संख्यामा सरुवा भएको छ।

मन्त्रिपरिषद्को मंसीर ३० गते विहान ११ बजे बालुवाटारमा बसेको बैठकले १४ जना सहायक रथी (जर्नेल) हरुको सरुवा गर्ने निर्णय गरेको छ भने ३२ जना महासेनानी (फुल कर्णेल) हरुको पनि सरुवामा परेका छन्।

मन्त्रिपरिषद्को बैठकले महासेनानीहरु मानबहादुर महरा र भरतचन्द्र गुरुङलाई सहायक रथी (जर्नेल) पदमा बढुवासमेत गर्ने निर्णय गरेको छ। यसैगरी नेपाली सेनाका प्राविधिक सहायक रथी डा.पंकज चन्दलाई अशक्त निबृत्तिभरण उपलब्ध गराई पदबाट अवकाश दिने निर्णय गरेको छ।

झगडामा मारिएकालाई १० लाख

बैठकले गृहमन्त्री रामबहादुर थापा बादलको प्रस्तावमा सर्लाहीका महेन्द्र महराका परिवारजनलाई १० लाख आर्थिक सहायता दिने निर्णय गरेको छ। महेन्द्रको दुई महिनाअघि आपसी मारपिटमा परी मृत्यु भएको थियो।

उनको मृत्युपछि सर्लाहीको बौहर्वाको सानो गाउँमा थप विवाद बढेको थियो। आपसी मारपिटमा उनको मृत्युपछि लासलाई वीरगञ्जमा राखिएको र आर्थिक सहायता नपाएसम्म शवको आन्तिम संस्कार नगर्ने अडानमा परिवार र आफन्तहरु भएपछि सरकारले १० लाख आर्थिक सहायता दिने निर्णय गरेको हो।

नेपालका विभिन्न एयरपोर्टहरुको क्षमता विकासका लागि एशियाली विकास बैंकबाट एकसय पचास मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ भने महाकाली सिँचाइ आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अगाडि बढाउन पनि बैठकले स्वीकृति दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *