पर्यटकीय नगरी पोखराको मुख्य आर्कषण बाराही मन्दिर बिहिबारदेखि पुनः खुला
काठमाडौं। नौ महिनादेखि बन्द फेवातालको बीचमा रहेको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बाराही मन्दिर पुनः खुला गरिएको छ।
कोरोना भाइरस (कोभिड–१९) का कारण गत चैतदेखि बन्द रहेको मन्दिर नेपाल सरकारले जारी गरेको स्वास्थ्य सतर्कताका मापदण्ड अपनाई सर्वसाधारणका लागि बिहिबारदेखि खुला गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिए।
पर्यटकीय हिसाबले नेपालको प्रमुख नगरी पोखराको मुख्य आर्कषणको रुपमा रहेको मन्दिर लामो समयदेखि बन्द हुँदा आन्तरिक पर्यटक आए पनि मन्दिर खुला नभएपछि त्यसै फर्कने गरेका थिए। मन्दिर खुलेपछि पर्यटकको संख्यापनि बढ्ने विश्वास गरिएको छ।
मन्दिर प्रवेशका लागि भौतिकदूरी कायम गर्दै एउटा मात्र बाटोको प्रयोग गरिने र स्यानिटाइजरको व्यवस्था गरिएको कुँवरले बताए। मन्दिर बन्द रहेका अवस्थामा पुजारीमार्फत नित्य पूजा हुँदै आएको थियो।
कोभिड– १९ असरमा परेका डुङ्गा चालक अब चहलपहल बढ्छ कि भन्ने आशामा रहेका छन्। मन्दिर पुनः खुले पछि डुङ्गा चालक श्रमिकहरुले खुशी व्यक्त गरेका छन्।
Facebook Comment