संवैधानिक परिषदसम्बन्धि अध्यादेश फिर्ता लिन कांग्रेसकाे माग

डिसी नेपाल
३ पुष २०७७ १५:२५

काठमाडाैं। नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अविलम्ब फिर्ता लिन सरकारसँग माग गरेको छ। कांग्रेस संसदीय दल कार्यसमितिको आज बसेको बैठकले ‘संसद् अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको’ निष्कर्ष निकालेको छ।

बैठकले अध्यादेश अविलम्ब फिर्ता गर्न र छिटोभन्दा छिटो संसद् अधिवेशन बोलाउन सरकारसँग माग गरेको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन्। सरकारले गत मङ्सिर ३० गते संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेको थियो।

बैठकमा संसद्लाई थप प्रभावकारी बनाउने र पार्टीको भूमिका कसरी निर्वाह गर्नेलगायत विषयमा छलफल भएको थियो। बैठकले कोभिड–१९ को सङ्क्रमण महामारीको विषम परिस्थितिमा अनियमितता र भ्रष्टाचार भएको आरोप लगाउँदै छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरेको उनले बताइन्।

कांग्रेसले उखु किसानको बक्यौता चिनी मिलबाट तत्काल उपलब्ध गराउनका लागि आवश्यक पहलकदमी लिन सरकारको ध्यानाकर्षण गराएको छ। बैठकले मुलुकका विभिन्न स्थानमा कांग्रेस भएकै कारण सरकारले झुटो मुद्दा लगाई त्रास सिर्जना गर्ने गरेको र पक्षपात व्यवहार गर्ने गरेको आरोप लगाएको छ। बैठकले नेत्रविक्रम चन्द समूहका कार्यकर्ताबाट भएको व्यक्ति हत्या घटनाको भत्र्सना गर्दै घटनाका दोषीलाई कारवाही गर्न मागसमेत गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *