यसरी नर्कमा ठेल्नेलाई फाँसी होस्
विदेशमा गएर धेरै धन कमाउँछु भन्ने सपना बोकेर घर परिवार, आफन्त, साथीभाइ, देश छोडेर प्रदेश पुगेका कति नेपाली दाजुभाइ दिदीबहिनी खाडी मुलुकमा दिनकै कुटपिट र विभिन्न यातनाहरु सहेर काम गर्नु परेको छ।
खाडी मुलुकमा विशेषगरी घरमा घरेलु कामदारको रुपमा काम गर्न पुगेका कयौं नेपाली दिदीबहिनीहरु दिनहुजसो घर साहु तथा अन्य घरका सदस्यले विभिन्न बहानामा दिइएको शोषण तथा यातना सहेर काम गर्नु परेका घटनाहरु हामीहरुले सुन्दै आइरहेका छौं।
खाडी मुलुकमा घरेलु कामदारहरुको अवस्था कतिपयको साँच्चिकै दुःखद र पीडादायी मात्रै होइन केही कहालीलाग्दा घटनाहरु पनि हुने गरेका छन्। कतिपय ठाँउमा शारीरिक तथा मानसिक शोषण, कुुटपिट, काममा धेरै लगाउने तर तलब नदिने, छुट्टीमा वा लामो समयसम्म पनि स्वदेश फर्किन नदिने, कतिपय ठाँउमा यौन शोषण गरेर बच्चा जन्माएको जस्ता धेरै घटनाहरू पटक पटक समाचारका बिषय बनिसकेका छन्।
समाचारमा आउन नसकेका यस्ता घटना कति छन् कति जहाँ नेपाली दिदीबहिनीहरु लुटिएर पनि सहेर आफ्नै भाग्य र कर्मलाई दोष दिएर बसेका छन्। यसरी आफ्नो देश छोडेर अर्काको देशमा श्रम गर्न पुगेका दिदिबहिनीहरु जब यस्ता घटनाहरु बाट जीवनयापन गरेर परदेशमा दुख झेल्दै बस्नु परेको हुन्छ तब मानव भएर जन्मिनु पनि धिक्कार झैं लाग्दछ।
नेपाली दिदीबहिनीहरु पनि आफू जाने देशको बारेमा राम्रोसँग जानकारी नलिई दलालले देखाएको प्रभोलनमा परी दलालको हातमा पैसाको मोटो रकम बुझाएर बिदेश नहाँकिनु होला खासगरी खाडी मुलुकमा। बरु आफ्नै देशमा जे जसरी दुख सुख गरेर आफ्नै परिवारसँग रमाएर बस्दा नै अति उत्तम हुन्छ।
वर्षअघि बुटवलदेखि भारतको बाटो हुँदै कुवेत पुगेकी एक महिला त्यहाँ पुगेपछि भाषाको समस्या र सम्बन्धित काममा पोख्त नहुँदा धेरैपल्ट साहुको हातबाट कुटाइसमेत खानु परेको थियो। हरेक दिनजसो विभिन्न बहानामा कुटाइ खाएपछि एकदिन उनी काम छोडेर भाग्न खोजिन् तर घर साहु र घरका अन्य सदस्यले थाहा पाएपछि उनलाई कोठामा बाधेर रगताम्य हुने गरी कुटपिट गरे।
त्यो कुटपिट गर्दाको भिडियो समाजिक संजालमा समेत आएको थियो। जो कोही देख्नेहरुको मन मुटु नै सिरिङग हुन्छ। उनलाई पछि नेपाली राजदूतावासले उद्धार गरेर नेपाल पुर्याएको थियो। त्यस्तै १३ बर्षअघि झापाकी एक महिला दलालीको कुरामा फसेर ओमनमा घरेलुु कामका लागि पुगिन्। तर उनले काम गरेबापतको तलब नपाउने र घरपरिवारदेखि टाढा राखेपछि उनी लामो समयसम्म सम्पर्कविहीन भइन्।
गरिब बिपन्न परिवारकी उनी घर परिवारले खोजतलास गरेपछि लामो समयदेखि बन्धक बनाएर राखेको पत्ता लाग्यो। समाजिक संजालबाट यो कुरा आएपछि उनलाई खोजतलास गरी त्यहाँको राजदुतावास र विभिन्न संघ संस्थाको पहलमा नेपाल फर्काउनु परेको थियो।
साउदी अरबमा घरेलुु कामका लागि पुगेकी एक महिलाको घर साहुको दिनहुँ जसो यौन दुर्ववहार र यौन शोषणले गर्दा पेटमा बच्चा बस्यो। बच्चा पेटमा बसिसकेपछि साहुले केही रकम दिएर उनलाई नेपाल फिर्ता गरे। यस्ता घटनाहरु बिदेशमा कयौं छन्। कतिपयले बाहिर ल्याउन चाहँदैनन् भने कसैले अति भएपछि आफैं बाहिर कुरा राख्ने गर्दछन्।
यी केही उदाहरण मात्रै हुन्, पछिल्लो समय जोर्डनमा पनि घरेलु कामदारका रूपमा जाने नेपाली दिदी बहिनीहरुले यस्तै समस्या भोग्नु परेको, साहुहरुले बिरामी हुँदा पनि जबर्जस्ती काम लगाउने, पर्याप्तरूपमा खानसमेत नदिइएको, केही दिदीबहिनीहरुलाई केही समयअगाडि मात्रै पनि उद्वार गरेर नेपाल फर्काउने काम भएको छ।
विशेषगरी खाडी मुलुक र कडा सरिया कानुन भएका देशहरूमा घरेलु कामदारका रूपमा कार्यरत दिदिबहिनीहरुको अवस्था निक्कै नाजुक र दयनीय छ। असीमित काम गर्नुपर्ने ठूलो परिवारमा एक्लै काम गर्नुपर्ने त्यसमाथि पनि मानसिक शारीरिक र श्रम शोषण हुने यस्ता थुप्रै घटनाहरु बाहिर आउदै गर्दा उनीहरुको वास्तविक जीवन कस्तो छ भन्ने कुरालाई हामीले सजिलोसँग अनुमान गर्न सकिन्छ।
आफ्नो देशमा बेरोजगार, गरीबी तथा अन्य विभिन्न कारण गर्दा बाध्यताले बिदेशिनु परेका नेपाली चेलीहरु जब त्यस्ता ठाउँमा पुगेर झन् नारकीय जीवन बिताउनु पर्छ तब उनीहरुको हाल के भयो होला? बिदेशिनु कसैको रहर होइन बाध्यता हो।
त्यही बाध्यताले बिदेशिएपछि जब त्यस्तो ठाउँमा पुगिन्छ अनि थोरै सपना बोकेर गएका उनीहरुको सपना पनि सब भताभुङ्ग हुन्छ। कतिपय दिनकै यस्तो यातना सहन नसकी बिदेशमै आत्महत्या गर्न पनि विवस हुन्छन्। विशेष गरी धेरै पैसा कमाउने आश देखाएर भारतको बाटो हुँदै खाडी मुलुक लगिने सोझा सिधा दिदीबहिनीहरु यसको उच्च जोखिममा रहन्छन्।
बिदेशमा त्यस्तो हुन्छ भन्ने थाहा हुँदा हुँदै पनि नेपाली सोझा दिदीबहिनीहरुलाई विभिन्न बाहानामा फँसाएर मेनपावर तथा दलालीहरुले जानी जानी खाडीको नर्कमा लागेर बेचिदिन्छन्। त्यस्ताहरुलाई सबैभन्दा पहिला फाँसीको सजाय दिनु अति आवश्यक भएको छ। अनिमात्र त्यस्ता ठाँउमा दालालीहरुले नेपाली दिदीबहिनीहरु बेच्न अथवा पुर्याउन सोच्न पनि सक्दैनन्।
नेपाली दिदीबहिनीहरु पनि आफू जाने देशको बारेमा राम्रोसँग जानकारी नलिई दलालले देखाएको प्रभोलनमा परी दलालको हातमा पैसाको मोटो रकम बुझाएर बिदेश नहाँकिनु होला खासगरी खाडी मुलुकमा। बरु आफ्नै देशमा जे जसरी दुख सुख गरेर आफ्नै परिवारसँग रमाएर बस्दा नै अति उत्तम हुन्छ।
त्यसरी अर्काको देशमा गएर बिदेशी साहुको विभिन्न बहानामा गरेको शोषण, गाली, कुटाइ र यताना सहेर कसरी काम गर्न सकिन्छ? अझ केही घटनाहरु यस्ता पनि छन् कि सम्बन्धित व्यक्तिलाई बन्दक बनाएर राख्ने, फोनसमेत चलाउन नदिने, दिनहुँ शारीरिक यातना दिने, सम्बन्धित परिवारको सदस्यलाई कुन ठाउँबाट कोमार्फत कुन कम्पनीमा गएको हो त्योबारे अनबिज्ञ हुनु, सम्बन्धित पीडितको पासपोर्टको फोटोकपी अथवा पासपोर्ट नम्बरसमेत सम्बन्धित परिवारलाई जानकारी नहुँदा पीडितले निक्कै कष्टकर जीवन भोगेका पनि छन्।
दुख पाइसकेपछि भाग्यलाई दोष लगाउनुको साटो पहिला नै अर्थात् बैदेशिक रोजगारीका लागि आफ्नो घर छोडेर हिड्नुअघि नै कतै म फस्दै त छैन? के मसँग सबै कागजत्र छन् कामका लागि? भन्ने यकिन गर्नु जरुरी छ। विशेषगरी भारतको बाटो हुँदै खाडी मुलुक जाँदै हुनुहुन्छ भने धेरैपटक सोच्नुपर्छ तपाईं कतै बिक्री हुँदै त हुनुहुन्न? कतै तपाईंको जीवन नारकीय त बन्दै छैन?
त्यसैले वैदेशिक रोजगारीमा जादा नेपालकै विमानस्थल प्रयोग गर्नु पदर्छ। साथै आफू विदेश जाँदै छौ भने विदेश पठाउने एजेन्ट, एजेन्सी, आफू काम गर्न जाने ठाउँ अथवा कम्पनीको नाम र फोन नम्बरहरु परिवारका सदस्यलाई जानकारी गराउनु अति आवश्यक छ।
पासपोटर्कको फोटोकपी, भिसाको फोटोकपी पनि परिवारको सदस्यलाई उपलब्ध गराइयो भने आफूलाई कुनै समस्या परेको वा भएको अवस्थामा परिवारको सदस्यले आवश्यक सहयोग वा कानुनी सहयोग खोज्न सहज हुनेछ। त्यसैैैले यस्ता कुरामा सबैजना समयमा नै सतर्क रहन अति आवश्यक छ।
(प्रीया, नेपाली मजदुर एकता समाजकी केन्द्रीय संचार विभाग संयोजक हुन्)
Facebook Comment