काँग्रेस बैठकः ‘सत्ताको लोभमा नपरौं, संसद् विघटन असंवैधानिक हो’

डिसी नेपाल
७ पुष २०७७ १६:३८

काठमाडौं। सरकारले संसद् विघटन गरेपछि मंगलबार बसेको काँग्रेसको केन्द्रीय कार्य समिती बैठकमा पहिलो दिन ४ जना नेताहरुले बोलेका छन्। चारै जना नेताले केपी शर्मा ओली नेतृत्वको सरकारले संसद विघटन गरेकोमा आपत्ति जनाएका छन्।

स्रोतका अनुसार मंगलबार वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु महेश आचार्य र डा. नारायण खड्काले आफ्नो धारणा राखेका छन् भने सभापति शेरबहादुर देउवाले बैठक शुरु गर्दै आफ्नो प्रारम्भिक धारणा राखेका थिए। नेताहरुले संसद विघटनको जिम्मेवार प्रधानमन्त्री केपी शर्मा ओलीमात्र नभएर सबै कम्युनिष्टहरु जिम्मेवार रहेको बताएका थिए।

स्रोतका अनुसार बैठकको शुरुआत गर्दै सभापति देउवाले संसद् विघटनको आलोचना गरेका थिए। उनले संविधान विघटन असंवैधानिक भएको बताएका थिए। त्यसपछि बोलेका वरिष्ठ नेता पौडेलले कााग्रेस सत्ताको लोभमा नपरी लोकतान्त्रिक मूल्य मान्यतामा अडिग रहनुपर्ने भन्दै संसद् विघटनको विरोधमा आन्दोलन गर्नुपर्ने बताएका थिए। उनले काँग्रेसले यो विषयमा आफ्नो प्रष्ट धारणा बनाएर अगाडि जानुपर्ने बताएका थिए।

पार्टी सहमहामन्त्री डा. प्रकाशसरण महतले पार्टीको केन्द्रीय कार्य समिती बैठक जारी रहेको भन्दै पार्टीले संसद् विघटनबारे ठोस धारणा बनाउँदै आगामी रणनीति तय गर्ने जनाए। उनले संसद विघटन असंवैधानिक रहेकोप्रति काँग्रेस स्पष्ट रहेको भन्दै आगामी रणनीतिबारे बैठकले निर्णय गर्ने जनाए।

काँग्रेस बैठक बुधबार फेरि बस्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *