जनशक्ति उत्पादनमा सघाउन ‘इम्प्लोयर लिड लेबर मार्केट सेक्रेटरियट’ परियोजना
गण्डकी । उद्योग एवं व्यवसायीलाई आवश्यक दक्ष जनशक्ति उत्पादनमा सघाउने उद्देश्यका साथ ‘इम्प्लोयर लिड लेबर मार्केट सेक्रेटरियट’ नामक परियोजना पोखरामा शुरु भएको छ । नेपालका सातै प्रदेशमा परियोजना सञ्चालन गर्ने योजनाअनुरुप गण्डकी प्रदेशमा आजदेखि सो परियोजना शुरु भएको हो ।
नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, होटल सङ्घ नेपाल तथा निर्माण व्यवसायी महासङ्घको संयुक्त साझेदारीमा सञ्चालन हुने परियोजनाले कृषि, निर्माण र पर्यटन क्षेत्रलाई लक्षित गरेको छ । परियोजनाका लागि युरोपियन युनियनले आर्थिक सहयोग गर्नेछ भने ब्रिटिस काउन्सिलअन्तर्गतको टिभेट प्राक्टिकल पार्टनरसिप परियोजनाको व्यवस्थापकीय सहयोग रहनेछ ।
पश्चिमाञ्चल होटल सङ्घ पोखराको समन्वयमा आज पोखरामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरिधारी शर्मा पौडेलले परियोजना दक्ष र आवश्यक श्रमशक्ति उत्पादनमा सहायक हुने भन्दै सरकार र निजी क्षेत्रले समन्वय गरेर श्रमशक्ति उत्पादनमा लाग्नुपर्ने बताए । उद्योग व्यवसायीलाई कस्तो जनशक्ति आवश्यक पर्ने हो त्यसको जानकारी हुनुपर्ने बताउँदै उनले सरकार तथा सम्बन्धित क्याम्पस, विश्वविद्यालय वा तालीम केन्द्रले सो अनुसार जनशक्ति उत्पादन गर्न समन्वय गर्न सके राम्रो हुने धारणा राखे ।
नेपाल सरकारद्वारा स्वीकृत परियोजनाको कार्यावधि १४ महिना रहेको र कूल बजेट रु १७ करोड ९० लाख ११ हजार ७३३ रहेको परियोजनाका रविनकुमार श्रेष्ठले जानकारी दिए । पेशागत वर्गीकरणसम्बन्धी स्ट्याण्डर्डको विकास गर्ने, श्रम बजार सूचना प्रणालीको विकास गर्ने र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमसम्बन्धी नीति तथा कार्यक्रम तर्जुमा गर्ने कार्यमा रोजगारदाताको आवश्यकताअनुसार सीपयुक्त जनशक्तिको विकास गर्न सूचना तथा जानकारी दिने परियोजनाको उद्देश्य रहेको जनाइएको छ ।
परियोजनाका प्रादेशिक समन्वय संस्था पश्चिमाञ्चल होटल सङ्घ पोखराका अध्यक्ष विकल तुलाचनले श्रमका लागि विदेशिने नेपालीलाई स्वदेशमा नै रोक्न र आवश्यकताअनुसारको दक्ष जनशक्ति उत्पादनमा सघाउन परियोजना सफल हुने विश्वास व्यक्त गरे । होटल सङ्घ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले परियोजनालाई सफल बनाउन आफूहरुको पूर्ण सहयोग हुने बताउँदै सार्वजनिक निजी साझेदारीको अवधारणाअनुसार आफ्नो संस्थाले सधैं काम गर्ने बताए।
साना तथा घरेलु उद्योग महासङ्घ गण्डकीका अध्यक्ष हरिहर थापा, नेपाल निर्माण व्यवसायी महासङ्घका उपाध्यक्ष राजेन्द्र पहारी, नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य एवं परियोजना कार्यान्वयन समितिका सदस्य सुमित केडिया, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा महेश्वर ढकाल, भौतिक पूर्वाधार विकास मन्त्रालय गण्डकी प्रदेशका सचिव रामचन्द्र श्रेष्ठ, पश्चिमाञ्चल होटल सङ्घ पोखराका महासचिव गणेशराज पहारीलगायतले परियोजनाको सफलताको शुभकामना व्यक्त गरे । रासस
Facebook Comment