संसद विघटनविरुद्धका सबै रिटको आगामी शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ हुने

डिसी नेपाल
८ पुष २०७७ १३:४६

काठमाडौं। संसद विघटनका विरुद्ध सर्वोच्च अदालतमा परेका सबै रिटहरुको सुनुवाइ आगामी शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । रिटहरुमाथि आज सुनुवाइ गर्दैै प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले सबै रिटहरुलाई संवैधानिक इजलासमा सुनुवाइ गर्न आदेश दिएका हुन् ।

प्रधानन्यायाधीश जबराले सर्वोच्चमा परेका संसद विघटनविरुद्धका सबै रिटहरुलाई आज आफ्नै एकल इजलासमा पेशी तोकेका थिए । आज ती सबै रिटहरुमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश जबराले सबै रिटहरु संवैधानिक विषयसँग सम्बन्धित भएको ठहर गर्दै संवैधानिक इजलासमा सुनुवाइ गर्न आदेश दिएका हुन् । संसद विघटनविरुद्ध १२ रिट परेका छन् ।

संवैधानिक इजलास ५ जना न्यायाधीशहरुको संयुक्त इजलास हो । संवैधानिक इजलासको अध्यक्षता प्रधानन्यायाधीशले गर्छन् । प्रधानन्यायाधीशको अध्यक्षतामा हुने इजलासका अन्य ४ जना न्यायाधीश प्रधानन्यायाधीशले नै तोक्छन् ।

संवैधानिक इजलासको लागि सर्वोच्च अदालतमा तयार गरिएको रोष्टरमा न्यायाधीशहरु दीपक कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, मीरा खड्का, हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई, अनिल सिन्हा, प्रकाशसिंह राउत र सपना प्रधान मल्ल छन् । प्रधानन्यायाधीशले यिनै मध्ये ४ जना न्यायाधीश संवैधानिक इजलासको लागि तोक्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *