के नेपालमा कम्युनिष्ट राजनीतिको भविष्य छैन ?

खेमराज थापा
८ पुष २०७७ १७:५३

काठमाडौं। तत्कालिन एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ तीन गते पार्टी एकीकरण भएपछि स्थापना भएको नेपाल कम्युष्टि पार्टी (नेकपा)को संसदमा लगभग दुईतिहाई उपस्थिति थियो। २७५ सिट मध्ये प्रतिनिधिसभामा नेकपाको १७४ सिट थियो। र तत्कालिन नेकपाका नेताहरुले आफ्नो संगठित सदस्यको संख्या ८ लाख बताउने गर्थे।

तर, मंगलबार नेकपाका दुई गुटले फकर फकर स्थानमा छुट्टा छुट्टै स्थानमा केन्द्रीय कमिटी बैठक गरेर निर्वाचन आयोगमा दुबै गुटले आफ्नो पार्टी आधिकारिक भएको दावी गर्दै निवेदन दिएसँगै नेकपा विभाजन भएको छ। तत्कालिन नेकपाका एक अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपालाई जम्बो जेट भनेका थिए भने अर्का अध्यक्ष पुष्पकमल दाहालले नेकपाले देशमा ५० वर्ष शासन गर्ने बताएका थिए।

तर, नेकपा बनेको दुई वर्षमै जम्बो जेट दुर्घटनामा परेको छ। र सँगै के नेपालमा कम्युनिष्ट पार्टीलाई ठूलो भएको फाप्दैन ? भन्ने प्रश्न उठेको छ। इतिहासमा नेपालमा जब जब कम्युनिष्ट पार्टी ठूलो बनेर सरकारको नेतृत्व गर्न पुग्छन् तब ती पार्टीमा विभाजन आउने गरेको देखिन्छ।

उतार चढावपूर्ण इतिहास

२०१५ मा भएको पहिलो आम निर्वाचनमा नेपालमा कम्युनिष्ट पार्टीके अवस्था निकै दयनीय थियो। त्यतिबेला १०९ सिटका लागि भएको निर्वाचनमा कम्युनिष्टले ४ सिटमात्र जितेका थिए। २०१७ को राजनीतिक कू पछि कम्युनिष्ट पार्टीहरुमा विभाजन, र एकताको श्रृंखला नै चल्यो जुन आज पर्यन्त जारी छ। तर, २०४६ को राजनीतिक परिवर्तनपछि भएका ६ वटा आम निर्वाचनलाई केलाउने हो कम्युनिष्ट पार्टीको रोचक प्रदर्शन देख्न सकिन्छ।

२०४८ मा भएको आम निर्वाचनमा नेपालमा कम्युनिष्ट पार्टी मधयेको ठूलो कम्युनिष्ट पार्टी तत्कालिन नेकपा (एमाले)ले ६९ सिटमा चुनाव जितेर प्रमुख प्रतिपक्षी दलको हैसियत बनायो। जुन नेपालमा पहिलो पटक कुनै कम्युनिष्ट पार्टीले प्रमुख प्रतिपक्षी दलको हैसियत पाएको पहिलो घटना थियो। त्यसपछि २०५१ मा भएको मध्यावधि निर्वाचनमा त तत्कालिन एमाले संसदको सबैभन्दा ठूलो दल बन्न पुग्यो। ८८ सिटमा जित हात पारेको सो दलका अध्यक्ष मनमोहन अधिकारी अल्पमतको सरकारको नेतृत्व गर्न पुगे। यो नेपालमा कुनै कम्युष्टि प्रधानमन्त्री बनेको पहिलो घटना थियो।

तर २०५६ को आम निर्वाचनमा आइपुग्दा ७१ सिट जितेको एमाले संसदमा प्रतिपक्षी दलमा सिमित रहन बाध्य बन्यो। काँग्रेसले २०५ सिट मध्ये ११३ सिटमा जित हात पारेर सरकार बनायो। यो चुनावमा एमालेले पराजय भोग्नुको मुख्य कारण २०५४ मा भएको पार्टी विभाजन थियो। अथवा बलियो बन्दै गरेको कम्युनिष्ट पार्टी विभाजनका कारण फेरि कमजोर बन्न पुग्यो।

त्यसपछि २०६४ को संविधानसभा निर्वाचनमा १० वर्षे विद्रोहबाट शान्तिपूर्ण राजनीतिमा आएको तत्कालिन एमाओवादी सबैभन्दा ठूलो दल बन्न पुग्यो।

संविधानसभाको ५७५ सिट मध्य माओवादीले २२० सिटमा जित हात पारेको थियो। सबैभन्दा ठूलो दलको नेताको हैसियतमा सो दलका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गरे। तर, २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा आइपुग्दा माओवादी तेस्रो दलमा सिमित भयो। ५७५ सिट मध्ये ८० मात्र जित्यो। माओवादीको यो चुनावमा यस्तो हालत हुनुका पछाडि अन्य राजनीतिक कारण भए पनि एक मुख्य कारण सो पार्टीमा आएको विभाजन थियो। माओवादीबाट मोहन वैद्यहरुले पार्टी विभाजन गरेर अल्गै पार्टी बनाएका थिए, जसले २०७० को निर्वाचनमा भाग लिएन। अथवा बलियो कम्युनिष्ट पार्टी विभाजनका कारण फेरि कमजोर बन्यो।

तर, २०७४ को आम निर्वाचनमा तत्कालिन एमाले र माओवादीबीच वाम गठबन्धन भयो। चुनावी गठबन्धनमा यो निकै सफल सावित भयो। र नेपालमा नेकपा नामको ठूलो कम्युनिष्ट पार्टीको जन्म भयो। लगभग दुई तिहाई सिट जितेको नेकपा फेरि विभाजन भएको छ। अथवा नेपालमा बलियो बनिरहेको कम्युनिष्ट पार्टीले फेरि विभाजन व्यहोरेको छ। आगामी निर्वाचनले कम्युनिष्ट पार्टीको हैसियत मापन गर्नेछ। तर अहिले के भन्न सकिन्छ भने पक्कै पनि २०७४ को जस्तो जित कम्युनिष्ट पार्टीले हात पार्ने छैनन्।

विश्वव्यापी कारण

यसरी बलियो बनिरहेका कम्युनिष्टहरु किन विभाजनको अप्रिय दुर्घटना भोग्न बाध्य भएका छन ? प्रश्न उठेको छ। साथै के नेपालमा कम्युनिष्ट पार्टीको भविष्य छैन त ? भन्ने बहस पनि शुरु भएको छ। त्रिभुवन विश्वविद्यालयका सिनियर लेक्चरर तथा इलेक्शन, डेमोक्रेसीबारे अध्ययन अनुसन्धान गरेका उद्धव सिग्देल नेपालमा कम्युनिष्टको भविष्य उज्जवल नभएको ठोकुवा गर्छन्।

उनले डिसी नेपालसँग भने, ‘नेपालमा धेरैजसो जनसंख्याले वाम झुकवा राख्छ। तर कम्युनिष्ट नै वाम हुन् भन्ने गलत बुझाइएका कारण कम्युनिष्ट नाम गरेका दलहरुले केही पपुलर स्टन्ट गरेर चुनाव जित्ने गरेका छन्। तर, नाम कम्युनिष्ट, चुनावमा पनि भाग लिने यस्तो विरोधाभासका कारण उनीहरु टिक्न सकेका छैनन्।’ हुन पनि कुनै पनि लोकतान्त्रिक शासन व्यवस्था भएका मुलुकमा चुनावबाटै सरकारको नेतृत्वमा कुनै कम्युनिष्ट नाम गरेका दल पुगेको नेपाल एकमात्र उदाहरण हो।

नेपालमा कम्युनिष्टको भविष्य राम्रो नहुनुको कारण उदारवाद र कम्युनिज्मबीचको विश्वव्यापी टकराव पनि एक प्रमुख कारण भएको बताउँछन् लेक्चरर सिग्देल। उनले डिसी नेपालसँग भने, ‘पक्कै पनि नेपालमा कम्युनिष्ट पार्टी बलियो भएको विश्वशक्ति राष्ट्रहरुले देख्न सक्दैनन्। त्यसमाथि नेपालका कम्युनिष्टहरुले चुनावमा भाग लिएर लोकतान्त्रिक देशलाई पनि विश्वास दिलाउने असफल प्रयाश गरिरहेका छन्। उनीहरु चीनसँग पनि नजिक हुन खोजी रहेका हुन्छन्। त्यसैले लोकतान्त्रिक मुलुकले नेपालका कम्युनिष्टलाई सँधै शंकाको दृष्टिबाट हेर्छन्।’

विश्व राजनीतिमा पनि सोभियत संघको विभाजनसँगै कम्युनिष्टहरुको पतन भइरहेको छ। तर, त्यसको अपवाद नेपालमा सोभियत संघको विघटनपछि नै कम्युनिष्टहरुले अपार शक्ति हासिल गरेका छन्। तर, त्यसलाई जोगाउन भने असफल भएका छन्।

सैद्धान्तिक धरातल

नेपालमा प्रतिबन्धित कालमा कम्युनिष्ट पार्टीहरुबीच हुने विभाजनको मुख्य कारण सोभियत कम्युनिष्ट र चिनियाँ कम्युनिष्टलाई हेर्ने दृष्टिकोणका कारण हुने गरेको कम्युनिष्ट नेताहरुले बताउँदै आएका छन्। तर, २०५४ यताका विभाजन भने अलि फरक देखिएका छन्। २०५४ मा नेकपा एमाले विभाजन हुँदा पार्टी विभाजन गरेर माले गठन गर्ने वामदेव गौतमहरुले महाकाली सन्धिलाई एक कारण बताएका थिए। उनीहरुले तत्कालिन एमाले नेतृत्वले राष्ट्र घात गरेको भन्दै पार्टी विभाजन गरेका थिए। तर २०५९ मा गौतम फेरि नेकपामै फर्किए। उनले त्यतिबेला राष्ट्रघातीको आरोप लगाउनुको पुष्टि गर्न सकेनन्। त्यसैले २०५४ को विभाजनको सैद्धान्तिक धरातलभन्दा पनि व्यक्तिगत टकराव जस्तो देखिन्छ।

त्यसपछि तत्कालि माओवादीमा मोहन वैद्यहरुले माओवादी विभाजन गर्नुका पछाडि उनीहरुकै भाषामा प्रचण्डले १० वर्षको क्रान्तिलाई विसर्जन गरेकाले भन्ने थियो। तर, वैद्यसँगै गएका रामबहादुर थापा बादलहरु केही वर्षपछि फेरि प्रचण्डले नेतृत्व गरेको माओवादीमै फर्किए। उनीहरुले विभाजनका बेला लगाएको विसर्जनको आरोपलाई पुष्टि गर्न पनि सकेनन् विभाजनको औचित्य पनि पुष्टि गर्न सकेनन्।

तर, यो पटकको नेकपा विभाजन भने झनै फरक देखिएको छ। दुई फरक फरक स्कुल अफ थटबाट आएका माओवादी र एमालेबीचको एकीकरण कुनै सैद्धान्तिक धरातलमा टेकेर भएको थिएन। त्यसैले एकीकरण भएदेखि नै नेकपामा आपसी हेलमेल राम्रो थिएन। जुन बढ्दै जाँदा विभाजनसम्म आई पुगेको छ।
लेक्चरर सिग्देल सैद्धान्तिक धरातल स्पष्ट नभएकाहरुबीच विभाजन हुनु सामान्य भएको बताउँछन्। उनले कुनै पपुलर स्टण्ट गरेर चुनाव जित्ने तर कुनै सैद्धान्तिक धरातल नभएकाले सो जितलाई जोगाउन मुस्किल भएकाले पनि त्यस्तो हुने गरेको बताए।

विदेशीको चलखेल

नेपालमा राजनीतिक दलहरुहरुको इतिहास हेर्ने हो भने देशका दुई ठूला पार्टी काँग्रेस र कम्युनिष्टको जन्म विदेशी भूमि (भारत)मा भएको देखिन्छ। यहाँ काँग्रेसभन्दा कम्युनिष्टमाथि केन्द्रित भएकाले कम्युनिष्टबारेमात्र उल्लेख गर्न खोजिएको छ।

कम्युनिष्ट पार्टीका धेरैजसो नेताहरुले लामो समय भारतमा बिताएका छन्। अझ तत्कालि विद्रोही माओवादीका सबै शीर्ष नेताहरु विद्रोहकाल भरी भारतमै थिए। झन १२ बुँदे सम्झौता पनि भारतमै हुनुले नेपालको राजनीतिमा भारतको भूमिका कसैबाट लुकेको छैन। त्यसैले कतै न कतै नेपाली नेताहरुको भारतसँग कुनै न कुनै रुपमा सम्बन्ध छ भन्ने ओपन सेक्रेट विषय हो।

त्रिभुवन विश्व विद्यालयका राजनीतिक शास्त्रका एसोसिएट प्रोफेसर दिपक गजुरेल नेपाली नेताहरु राष्ट्र हितमा भन्दा पनि आफ्नो हितमा केन्द्रित हुने गरेको बताउँछन्। उनले डिसी नेपालसँग भने, ‘राष्ट्र हितलाई हेर्ने नेताहरु छैनन्। उनीहरु आफ्नो हितका लागि विदेशीको हितका लागि प्रयोग हुन्छन्। जुन दिन प्रयोग हुँदैनन्। अनि उनीहरुलाई सत्ताबाट तल झारिन्छ।’

उनको भनाइसँग लेक्चरर सिग्देल पनि सहमत छन्। ‘नेपाली नेताहरुको कमजोरीमाथि विदेशीहरुले चलखेल त सँधै गरिरहेका छन्। नेकपा पनि यसबाट अछुतो रहने कुरा भएन।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *