‘एसियन टाउनस्केप अवार्ड’बाट मध्यपुर थिमि नगरपालिका पुरस्कृत
काठमाडौं। ‘एसियन टाउनस्केप अवार्ड’बाट भक्तपुरको मध्यपुर थिमि नगरपालिका पुरस्कृत भएको छ। ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदा संरक्षण तथा पुनर्निर्माणमा महत्वपूर्ण काम गरेको भन्दै यूएन हेबिट्याटको एसिया प्यासिफिक क्षेत्रीय कार्यालयले थिमि नगरपालिकालाई ‘एसियन टाउनस्केप अवार्ड–२०२०’ बाट पुरस्कृत गरेको हो।
हिजो (बुधबार)साँझ आयोजित एक कार्यक्रममा नगरपालिकाका प्रमुख(मेयर) मदनसुन्दर श्रेष्ठले मध्यपुर थिमि नगरपालिका एशियन टाउनस्केप अवार्डबाट पुरस्कृत भएको जानकारी गराए। उनले पुरस्कार पाएसँगै ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा संरक्षणको काममा अझ बढी जिम्मेवार बनाएको बताए।
यूएन हेबिट्याटको एशिया प्यासिफिक क्षेत्रीय कार्यालयले दिदै आएको उक्त सम्मान पाउने मध्यपुर थिमी नगरपालिका नेपालकै एक मात्र नगरपालिका भएको प्रमुख श्रेष्ठले बताए।
मध्यपुर थिमि नगरपालिकाले विगत ३ वर्षदेखि भत्केका मठ मन्दिर, पाटी, पौवा, ढुंगेधारा, पोखरी, पार्कको संरक्षण तथा पुर्ननिर्माणमा ध्यान दिदैँ आएको छ। शहरी क्षेत्रको विकासमा सक्रिय प्यासिफिक क्षेत्रीय कार्यालयले गत अगष्टसम्म भएको प्रगतिको समीक्षा गर्दै सो पुरस्कार प्रदान गरेको हो।
यूएन हेबिट्याटको एसिया प्यासिफिक क्षेत्रीय कार्यालयले सहरी क्षेत्रको विकास निर्माणको काम हेरेर प्रत्येक वर्ष उक्त अवार्ड प्रदान गर्ने गरेको छ। यसवर्ष दक्षिण कोरियाका चार, चीनका तीन, जापानका दुई, मलेसियाका एक, थाइल्याण्डको एक र नेपालको मध्यपुर थिमि नगरपालिका गरी कूल १२ वटा सहरलाई पुरस्कृत गरेको हो।
Facebook Comment