अंग्रजी नयाँ वर्षको सुरुवातसँगै ब्रोकर कमिसन घट्ने
काठमाडौं। अंग्रेजी नयाँ बर्ष २०२१ को सुरुवातसँगै नेपाल धितोपत्र बोर्डले एक साताभित्र ब्रोकर कमिसन घटाउने र स्टक डिलर कम्पनीलाई लाइसेन्स दिने भएको छ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का नवनिर्वाचित पदाधिकारीलाई शुभकामना दिँदै बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले दुई विषयलाई एक साताभित्र टुङ्ग्याउने गरी काम भइरहेको बताए।
सो अवसरमा पुँजीबजारको विकास र विस्तारमा आर्थिक पत्रकारको महत्वपूर्ण भूमिका हुने उनको भनाइ छ। ‘सही सूचना सम्प्रेषण भएमात्र बजारको दीगो विकास हुन्छ। यसअर्थमा पत्रकारको भूमिका ठूलो हुन्छ,’ उनले भने।
ब्रोकर कमिसनका विषयमा बोर्डले धेरै अध्ययन र अनुसन्धानपछि मोडालिटी तयार गरिसकेको र अब दरमात्र तय गर्न बाँकी रहेको अध्यक्ष ढुङ्गानाको भनाइ छ।
यसअघि गत शुक्रबार अर्थमन्त्री विष्णु पौडेलले ब्रोकर तत्काल घटाउन धितोपत्र बोर्डलाई निर्देशन दिएका थिए। हाल धितोपत्रको दोस्रो बजारमा लगानीकर्ताले ५० हजारसम्मको सेयर खरिद बिक्री गर्दा ०.६ प्रतिशत र ५० हजारदेखि ५ लाख सम्मको कारोबारमा ०.५५ प्रतिशत कमिसन तिर्नुपर्ने व्यवस्था छ।
त्यस्तै, ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.५ प्रतिशत, २० लाखदेखि १ करोडसम्मको कारोबारमा ०.४५ प्रतिशत र सोभन्दा माथिको कारोबारमा ०.४ प्रतिशत कमिसन तिर्नुपर्ने व्यवस्था छ।
त्यस्तै, लामो समयदेखि लाइसेन्सको पर्खाइमा रहेको नागरिक स्टक डिलरले पनि यसै महिनाभित्र लाइसेन्स पाउने भएको छ। बोर्डका अध्यक्ष ढुङ्गानाले स्टक डिलरले सबै संरचना तयार गरिसकेकाले यसै साताभित्र अनुमतिपत्र प्रदान गर्ने बताएका हुन्।
Facebook Comment