नेकपा विभाजनपछि उत्तरी छिमेकी चीन सक्रिय, काठमाडौंमा राजदूतको दौडधुप

डिसी नेपाल
१० पुष २०७७ १७:३१

काठमाडौं। नेपालको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी आन्तरिक विवादका कारण विभाजन भएपछि उत्तरी छिमेकी चीनको सक्रियता बढेको छ। काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले नेकपा विभाजनपछि दौडधुप बढाएकी छन्।

तत्कालिन नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच भाइचारा सम्बन्ध स्थापना भएको थियो। बेला बेला चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाबीच प्रशिक्षण कार्यक्रमहरु पनि हुने गर्थे। नेपालको सत्तारुढ दलमा विभाजन आएपछि चीन सक्रिय बनेको हो।

चीनकी काठमाडौंस्थित राजदूत यान्छीले नेकपा विभाजनपछि राष्ट्रपति विद्यादेवी भण्डारी नेकपाका (प्रचण्ड–माधव) समूहका दुबै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई भेटेकी छन्।

गत मंगलबार राष्ट्रपति भण्डारीसँग शीतल निवासमा गएर पार्टी विभाजनबारे चासो राखेकी यान्छीले बिहीबार खुमलटार पुगेर प्रचण्डसँग भेटेकी थिइन्। शुक्रबार अध्यक्ष नेपालसँग कोटेश्वर पुगेर भेटेकी हुन्।

नेकपामा विवाद शुरु भएपछि राजदूत यान्छीको सक्रियता बढ्ने गरेको छ। यसअघि गत वैशाखमा नेकपामा आन्तरिक विवाद चुलिएपछि यान्छीको सक्रियतामा नेकपाको विवाद मत्थर पारिएको थियो। त्यसपछि गत असारदेखि भदौसम्म चर्केको विवादमा पनि यान्छी सक्रिय भएकी थिइन्। तर, यो पटक भने उनी नेकपाको विभाजन रोक्न असफल भइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *