संसद विघटनविरुद्ध नागरिक समाज सडक प्रर्दशनमा

डिसी नेपाल
११ पुष २०७७ १७:१६

काठमाडौं। सरकारले संसद् विघटन गरेको विरोधमा नागरिक समाजले सडक प्रदर्शन गरेको छ। नागरिक समाजका अगुवाहरुले शनिबार काठमाडौंस्थित माइतीघरमा संसद् विघटनलाई प्रतिगमन भन्दै विरोध प्रदर्शन गरेको हो।

नागरिक समाजले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर गाईजात्रा देखाएको भन्दै व्यंग्यसमेत गरेको छ। प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलनको व्यानरमा शनिबार प्रदर्शन गरिएको हो। बृहत नागरिक आन्दोलनले आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेको छ। १८ गतेसम्म दिन बिराएर प्रदर्शन गर्ने नागरिक आन्दोलनले बताएको छ।

सत्तारुढ दल नेकपा भित्र आन्तरिक विवाद चर्किएपछि ओली नेतृत्वको सरकारले संसद् विघटन गरेको थियो। संसद् विघटनपछि नेकपासमेत विभाजित भएको छ। पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालहरुले नेकपाको अध्यक्षबाट ओलीलाई हटाएका छन्। सो समूहको संसदीय दलले ओलीलाई संसदीय दलबाटसमेत हटाएको छ।

उता ओली नेतृत्वको नेकपाले पनि प्रचण्डलाई अध्यक्षबाट हटाएको छ। अहिले दुबै नेकपाले आफू आधिकारिक भएको दावी गरिरहेका छन्।

संसद विघटनविरुद्ध ओली नेतृत्वको नेकपा र नारायणमान विजुक्छे नेतृत्वको नेमकिपाबाहेक अन्य सबै दलहरुले प्रदर्शन गरिहरको छन्। नेपाली काँग्रेसले यही पुस १३ गते देशका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने तयारी गरेको छ। उता जनता समाजवादी पार्टीले निरन्तर विरोध प्रदर्शन गरिरहेको छ। त्यस्तै साझा विवेकशील पार्टीले पनि निरन्तर प्रदर्शन गरिरहेको छ। शनिबार नागरिक समाजले पनि संसद् विघटन विरुद्ध प्रदर्शन गरेको हो।

सर्वोच्च अदालतले पनि संसद् विघटन गर्नुको कारण मागेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *