सेयर बजारमा घटेको कमिसन आजदेखि लागू
काठमाडौं। चार वर्षपछि धितोपत्र बोर्डले घटाएको सेयर ब्रोकरहरूले पाउने कमिसन आज (आइतबार)देखि लागू हुँदै छ।
अन्य राष्ट्रको तुलनामा नेपालमा सेयर कारोबार शुल्क महँगो भएको भन्दै लगानीकर्ताले घटाउन माग गर्दै आएकोमा बोर्डले ब्रोकरलाई तिर्नुपर्ने कमिसन करिब ३३ प्रतिशत घटाएको हो। यसअघि लगानीकर्ताको मागलाई ध्यान दिँदै अर्थमन्त्री विष्णु पौडेलले बोर्डलाई तत्काल कमिसन घटाउन निर्देशन दिएका थिए।
पछिल्लो समयमा खासगरि दैनिक कारोबार परिमाणमा बढोत्तरी हुँदै गएको, बजारमा ८५ प्रतिशतभन्दा बढी कारोबार अनलाइनमार्फत हुने गरेको, कारण धितोपत्र दलाल व्यवसायीले लिने सेवा शुल्कमा पुनरावलोकन गरीएको बोर्डले जनाएको छ।
नयाँ व्यवस्थाअनुसार सेयर खरिदबिक्री गर्दा लगानीकर्ताले कारोबार रकमको ०.२७ देखि ०.४ प्रतिशत रकम ब्रोकरलाई शुल्क तिर्नुपर्छ। यसअघि ०.४ देखि ०.६ प्रतिशतसम्म शुल्क लाग्ने व्यवस्था थियो।
अब सेयर कारोबारमा ब्रोकरले ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४०, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३७, ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४, २० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.३० र एक करोड रुपैयाँभन्दा माथिका सबै कारोबारमा ०.२७ प्रतिशत शुल्क लाग्छ।
Facebook Comment