‘मन्त्रालयका कर्मचारीसँग समन्वय गरेर अघि बढ्ने’

डिसी नेपाल
१२ पुष २०७७ १५:०९

काठमाडौं । खानेपानीमन्त्री मणिचन्द्र थापाले आफू मन्त्रालयमा रहँदासम्म कर्मचारीसँग समन्वय गरेर अघि बढ्ने बताएका छन् । मन्त्रालयमा कुनै पनि समस्या आउँदा दबाब नगरी समन्वयमार्फत समाधान खोजिने उनको भनाइ छ ।

उनले मन्त्रालयलाई नेतृत्व दिने जिम्मेवारी कर्मचारीको नै भएको उल्लेख गरे । राजनीतिक नेतृत्व आउने/जाने भए पनि कर्मचारीले स्थायीरुपमा काम गर्ने उनको भनाइ छ । आफू लामो राजनीतिक जीवनपछि पहिलोपटक मन्त्रीका रुपमा जिम्मेवारीमा आएको उनले बताए । उनले भने, “अहिलेको हाम्रो मुख्य जिम्मेवारी निर्वाचन गराउने नै हो ।”

मन्त्रालयका सचिव माधव बेल्वासेले खानेपानी मन्त्रालय संरचनागतरुपमा सानो भए पनि मौलिक हकमा उल्लेख भएका अधिकारको कार्यान्वयन गराउने जिम्मेवारी भएको बताए । खानेपानी र स्वच्छ वातावरणको हक कार्यान्वयन गराउने जिम्मेवारी भए पनि अहिले धेरै ठाउँमा पानीको स्रोत सुक्दै जानु चुनौतीका रुपमा देखा परेको उनको भनाइ छ ।

मन्त्रालयको जिम्मेवारीका रुपमा रहेको ढल व्यवस्थापनमा समन्वयको समस्या रहेको उनले औँल्याए । उनले भने, “समन्वयकै अभावमा कतिपय स्थानमा ढल निर्माण भइरहेकामा समेत त्यो रोकिएको छ ।”

मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले मन्त्रालयको जिम्मेवारी ठूलो भए पनि संरचना र जनशक्ति कम रहेको बताए । खानेपानी एउटा निकाय मात्रै संलग्न भए पनि ढल निर्माण, मर्मत र व्यवस्थापनको जिम्मेवारी धेरै निकायले लिएकाले समस्या आउने गरेको उनको भनाइ छ ।

मन्त्री थापाले आज नै खानेपानी तथा सरसफाइसम्बन्धीको गुरुयोजना (वास प्लान) प्रदेश सरकार र स्थानीय तहसँगको समन्वयमा अघि बढाउनेसम्बन्धी फाइलमा हस्ताक्षर गरेका छन् । आज मन्त्रालयको जिम्मेवारी सम्हाल्दै उनले मन्त्रालयले यसअघि कतिपय प्रदेश र पालिकासँगको समन्वयमा ‘वास प्लान’ शुरु गरेकामा बाँकी पालिकामा समेत अघि बढाउने निर्णय गरेका छन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *